सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिरामीले सहज रूपमा रगत पाउनुपर्छ : सांसद काफ्ले


नेपालगञ्ज , लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बिरामीले सहज रूपमा रगत पाउनुपर्ने बताउनुभएको छ । सरकारले बिरामीलाई आवश्यक परेको अवस्थामा निःशुल्क र सहज रूपमा पाउनुपर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।
नेपालगञ्जमा सोमबर १८ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद काफ्लेले रगतको सहज व्यवस्थापन र निःशुल्क पाउनुपर्ने बिषयमा आफुले पहल गर्ने बताउनुभयो ।
भेरीमा आउने बिरामीले निःशुल्क रूपमा रगत पाउने व्यवस्था भएजस्तै अन्य अस्पतालका बिरामीले पनि निःशुल्क पाउनुपर्ने कुरामा जोड दिँदै उहाँले यसको उपलब्धतालाई सहज बनाउन सरकारले प्रभावकारी अभियान संचालन गर्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।


‘स्वयंसेवी रक्तदाता समाजको म आफूपनि आजिवन सदस्य हो,’ सांसद काफ्लेले भन्नुभयो, ‘रगत सबैका लागि आवश्यक छ, तर यसको उपलब्धता सहज छैन, यसका लागि स्थानीय तहले पनि ध्यान दिन जरुरी छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंककी संचालक बिजया धितालले यो अभियानमा जो जसरी सहयोगी बन्न सक्छ बन्नुुपर्ने बताउनुभयो । उहाँले बोल्ने बेला जे पाए त्यो बोल्ने तर गर्ने बेला नगर्ने भन्दा जे गर्न सकिन्छ त्यही कुरा मात्र नबोलिदिँदा समाजमा सकारात्मक उर्जा प्रवाह हुन नसकेको बताउनुभयो ।
यस्तै अन्तरपार्टी महिला संजाल बाँकेकी पूर्वअध्यक्ष रेखा गुप्ताले रक्तदान जस्तो ठुलो अर्काे कुनै दान नहुने भएकाले प्रत्येक स्वास्थ व्यक्तिले रक्तदान गर्नुपर्ने बताउनुभयो । आफूले रगत दिन नमिल्ने भएपनि छोराछोरीलाई रक्तदान गर्न सबै अभिभावकले बुझाउनुपर्ने कुरामा जोड दिनुभयो ।
स्वयंसेवी रक्तदाता दिवसको बारेमा जानकारी गराउँदै समाजका सल्लाहकार एवं वरिष्ठ पत्रकार पूर्णलाल चुकेले स्वस्फूर्तरूपमा नियमित रक्तदान गर्ने व्यक्तिहरू मिलेर रक्तदान कार्यलाई बृहत् बनाउन समाजको स्थापना भएको र उक्त स्थापनाको समयलाई आधार मानेर प्रत्येक वर्ष दिवस मनाउन थालिएको स्पष्ट पार्नुभयो ।
सरकारले यसलाई आधिकारिक रूपमा क्यालेणडरमा समाबेश गर्न नसकेकाले समाबेश गर्न र यस दिन सरकारीस्तरबाटै कार्यक्रमहरू हुनुपर्ने भन्दै हालै समाजको केन्द्रीय समितिले प्रधानमन्त्री समक्ष मागपत्र पेश गरेको उहाँले जानकारी गराउनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष एवं समाज बाँकेकी अध्यक्ष दिला शाहले यो पुण्य कार्यमा आम व्यक्तिहरू समेत सहभागी हुनुपर्ने भन्दै जिल्लाका स्थानीय तहमा समाजको उपशाखाहरू निर्माण गरेर गतिविधि शुरू गरिएको बताउनुभयो । उहाँले पालिकाले आफ्ना जनताका लागि यो अधियान संचालनमा सक्रिय बन्न आवश्यक रहेको जोड दिनुभयो ।
कार्यक्रममा ९२ पटक रक्तदान गर्नुभएका स्वयंसेवी रक्तदाता, समाजका सल्लाहकार तथा पत्रकार पवन जायसवाल, सल्लाहकार एवं पत्रकार शंकर प्रसाद खनाल, स्वयंसेवी रक्तदाता एवं अभियान्ता सुनिल परियार, समाजका कोषाध्यक्ष मनमोहन बर्मा, सदस्य दिनेश ठाकुर, होमराज गिरीलगायत उपस्थित कार्यक्रमलाई सचिव भिष्म लोधले संचालन गर्नुभएको थियो । हरेक वर्ष माघ १५ गते राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाउने गरिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »