सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा शान्ति र सदभावको पर्व ’इदुलफित्र’ मनाइँदै


नेपालगन्ज, शान्ति र सद्भावको महान् पर्व इदुल फित्रलाई बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ बिहीबार मनाउँदै छन् । सो अवसरमा बिहानै नेपालगन्जस्थित केन्द्रीय इदगाहमा सामूहिक नमाजबाट सुरु भएको इदको औपचारिक कार्यक्रम पछि जिल्लाका विभिन्न ठाउँमा अन्य विविध कार्यक्रमका साथ इद पर्व मनाइँदै छ ।


सामूहिक नमाजका लागि ठुलो सङ्ख्यामा इदगाह पुगेका मुस्लिम धर्मगुरु, अगुवा र सर्वसाधारणले देशको आर्थिक विकाससँगै भौतिक विकासको लागि सामूहिक प्रार्थना गरेका थिए । देशमा शान्ति र आर्थिक उन्नतिका लागि विशेष प्रार्थना गरिएको इदगाह सञ्चालक समितिका महासचिव ईर्फान सिद्धिकीले बताउनुभयो । उहाँले रमजान र इदलाई शान्तिपूर्ण तरिकाले सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार प्रकट गरिएको बताउनुभयो ।


सो अवसरमा सम्बोधन गर्दै धार्मिक अगुवाहरूले देशका शान्ति, समृद्धि र विकासको कामना गरेको धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । उहाँले इद शान्ति र भाइचाराको पर्व भएको जनाउँदै यसले सबैलाई एकताबद्ध बनाउन सहयोग गर्ने बताउनुभयो ।


इदगाहमा नमाज सम्पन्न भएलगत्तै पूर्व सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, नेपालगन्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, वरिष्ठ अडिटर तथा समाजसेवी जुबेर राई र करिम खान लगायतले अधिकांशलाई अङ्कमाल गरेर इदको शुभकामना प्रकट गर्नुभयो । उक्त अवसरमा अन्य धर्म सम्प्रदायका स्थानीय राजनीतिक दलका अगुवाहरू, प्रहरी प्रशासनका प्रमुखहरू, व्यवसायी तथा उद्योगीले इदगाहमा पुगेर शुभकामना आदान प्रदान गरेका छन् ।


इदको सामूहिक नमाज सकिएलगत्तै नेपालगन्जका विभिन्न स्थानमा इद मिलन कार्यक्रम राखेर शुभकामना आदान प्रदान गर्ने कार्यक्रम चलिरहेको छ । तीन दिनसम्म विभेद कार्यक्रम गरेर मनाइने सो पर्वमा उक्त समुदायले सेवई, जर्दा, बिरयानी, कबाब लगायतका परिकार पकाएर आफन्त तथा इष्टमित्रहरूलाई खुवाउने परम्परा छ ।


यसअघि तीस दिनसम्म रमजानको रोजा राखेर मुस्लिम समुदायले विभिन्न धार्मिक कार्यहरू सम्पन्न गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »