सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल–भारत जमुनाहा सिमानाका तीन दिनका लागि बन्द

नेपालगन्ज, नेपाल–भारत जमुनाहा सिमानाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सिमानाका शुक्रबार साँझदेखि तीन दिनका लागि बन्द गरिएको हो ।

खुला सिमानाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले शुक्रबार साँझ ५ बजेबाट तीन दिनका लागि सिमानाका बन्द गरिएको भारतीय सुरक्षा निकायबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । नाका वैशाख ३१ गते साँझ ६ बजेसम्म बन्द रहने जानकारी भारतीय पक्षबाट आएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार राती १० बजेसम्म नाका आंशिक रुपमा बन्द गर्ने र त्यसपछि वैशाख ३१ गते साँझसम्म पूर्णरुपमा बन्द गरिने छ । सीमा बन्द गरिएको अवधीमा एम्बुलेन्स लगायत अत्यावशयक सेवालाई दुबै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिने जनाइएको छ ।

भारतबाट आउने नेपाली धेरै भएमा शुक्रबार र शनिबारसम्म आउन दिने जनाइएको छ । यसैगरी शुक्रबार रातीबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । नेपाल र भारत दुबै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमा नाका सिल गरिने गरिएको छ ।

लोकसभाको निर्वाचनलाई नै लक्षित गरेर सुरक्षा कडा पार्न नाका बन्द हुनुभन्दा केही समयअघिबाटै सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती पनि गर्दै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »