सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘विश्व फुटबलमा अर्का सुपरस्टारको जन्म’

काठमाडौं । युरो २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएसँगै १६ वर्षीय स्ट्राइकर लामिन यमल चर्चामा छन्।

जर्मनीको म्युनिखमा फ्रान्सविरूद्ध उनले २१ औं मिनेटमा गोल गरेका थिए। जुन गोलसँगै उनी युरो कपमा गोल गर्ने कान्छा खेलाडी बने। यो रेकर्डसँगै उनी भविष्यका सुपरस्टार भएको भन्दै चर्चा सुरु भएको छ।

१६ वर्ष र ३६२ दिन उमेरमा उनले स्पेनका लागि सुरूवाती गोल गर्दै विश्व फुटबललाई चकित बनाए। उनले डिबक्स बाहिरबाट हानेको कर्लिङ प्रहार निकै दर्शनीय थियो।

गोल गरेपछि इंग्ल्यान्डका पूर्वस्ट्राइकर ग्यारी लिनेकरले बिबिसीसँगको कुराकानीमा भने-‘एउटा सुपरस्टारको जन्म भएको छ। उनले गोल गरेको क्षण सायद समग्र प्रतियोगिताकै उत्कृष्ट क्षण मध्येको एक हो।’

खेल सुरु हुनुभन्दा आधा घण्टाअघि उनी मैदानमा आफ्ना साथीहरूसँग हाँस्दै ठट्टा गरिरहेका थिए। जसले उनमा खेलका लागि आत्मविश्वास भएको प्रष्ट देखिन्थ्यो।

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले यमलको गोललाई उत्कृष्ट भन्दै अघि भने, ‘उनी धेरै अनुभवी खेलाडी जस्तै देखिन्छन्। उनीमाथि हामीले धेरै भरोसा गरेका छौं र आशा छ कि हामी आउने वर्षहरूमा उनको खेलको अझ धेरै मजा लिन सक्छौं।’

अहिले अन्तर्राष्ट्रिय फुटबलमा प्रभाव देखाइरहेका यमलले सन् २०२३ को सिजनमै इतिहास बनाएका थिए। १५ वर्षको उमेरमा स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी मात्र बनेनन् ला लिगामा गोल गर्दा सबैभन्दा कान्छा खेलाडी पनि बने।

यमल १३ जुलाईमा १७ वर्ष पुग्नेछन्। त्यो दिन युरो २०२४ को फाइनलको एक दिन अघि हो। उनी १७ वर्ष पुगेको भोलिपल्ट स्पेनले इङ्ल्यान्ड वा नेदरल्याण्ड्ससँग सामना गर्नेछ।

फ्रान्सविरूद्धको कीर्तिमानी प्रदर्शन गरेसँगै यमलले स्थानीय समयअनुसार मध्य रात सवा १२ बजे पोस्ट म्याच पत्रकार सम्मेलनमा बोल्दै भने, ‘राष्ट्रिय टोलीबाट खेल्दै फाइनलमा पुग्ने सपना साकार भएको छ।’

पत्रकार सम्मेलनमा निकै आत्मविश्वासका साथ बोलेका उनले अब ध्यान बर्लिनमा आइतबार हुने फाइनलमा केन्द्रित हुने बताएका थिए। उनले फाइनलमा कुन टोलीसँग खेल्न मन छ भन्ने प्रश्नमा जुन टोलीसँग खेल्दा पनि आपत्ति नहुने जवाफ फर्काएका थिए।

यसअघि उनले क्वार्टरफाइनलमा स्पेनले घरेलु टोली जर्मनीविरूद्ध २-१ गोलको जित निकाल्दा पनि आफ्नो टोलीका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। खेलमा उनले ड्यानी ओल्मोलाई गोल गर्न पास मिलाएका थिए। जससँगै उनले युरोपियन च्याम्पियनसिपको एउटै संस्करणमा तीनवटा असिस्ट गर्ने स्पेनिस कीर्तिमान बनाएका थिए।

सन् २००७ को जुलाई १४ मा बार्सिलोनामा जन्मिएका उनी विशेषगरी दायाँ विंगरको रूपमा खेल्छन्।

बार्सिलोनाका एकेडेमी उत्पादन यमलका बुबा-आमा भने स्पेनिस होइनन्। उनका बुबा मोरक्को तथा आमा गुएनाका हुन्।

सन् २०१२ देखि बार्सिलोनाको युथ टोलीबाट खेलेका उनले स्पेनको यू-१५ देखि यू-१९ राष्ट्रिय टोलीबाट खेलेका थिए।

उनले २०२३ को सिजनको अन्त्यतिर बार्सिलोनाको सिनियर टोलीबाट खेल्दै कीर्तिमान बनाएका थिए। तत्कालिन बार्सिलोनाका प्रशिक्षक जाभीले उनलाई सिनियर टोलीमा स्थान दिएसँगै उनको चर्चा सुरु भएको थियो।

बार्सिलोनाको सिनियर टोलीबाट खेलेसँगै गत सेप्टेम्बरमा उनी १६ वर्षको उमेरमा स्पेनको राष्ट्रिय टोलीमा परेका थिए। जर्जियाविरुद्धको युरो छनोटको डेब्यू खेलमै गोल गर्दै उनले अर्को कीर्तिमान बनाएका थिए। हालसम्म स्पेनको टोलीबाट १३ खेल खेल्दा उनले ३ गोल गरेका छन्।

सन् २०२३ को सिजनमा ला लिगाको उपाधि समेत जित्न सफल भएका उनमा उत्कृष्ट ड्रिब्लिङ, पासिङ र मौका सिर्जना गर्ने क्षमता छ। बायाँ खुट्टाले बढी प्रहार गर्न रुचाउने उनी सेन्टर फरवार्ड, अट्याकिङ मिडफिल्डर वा विंगर गरी तीनै भूमिकामा खेल्न सक्छन्। विशेष गरी उनी दायाँ विंगमा खेल्न रुचाउँछन्।

कतिपयले उनलाई अर्जेन्टाइन स्ट्राइकर लिओनल मेसीसँग समेत तुलना गर्ने गर्छन्। तर यमल भने आफू ब्राजिलका नेइमारको खेल शैलीबाट आफू प्रभावित भएको बताउने गर्छन्।

भर्खरै

सम्बन्धित खबर

Language »