सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्रीको सचिवालयकी एक्ली महिला सदस्य रोशनी मेचे

काठमाडौं । दमकमा ५२ बिघा जमिनका मालिक थिए रोशनी मेचेका बाबु–बाजे।तर उनीहरूसँग अहिले औंलो डोब्ने जमिन छैन।

‘हामी त सुकुम्बासीजस्तै छौं। अर्काको खेतीपाती अधियाँ नगर्ने हो भने साँझ–बिहान छाम टार्नै मुस्किल हुन्छ,’ रोशनीले आफ्नो पारिवारिक अवस्था दर्शाउँदै भनिन्।

५२ बिघा जग्गा–जमिनका मालिक कसरी सुकुम्बासीको नियतिमा पुग्यो भनेर उनले बालखैदेखि खोज्न थालिन्।

बुझ्दै जाँदा थाहा भयो– बाबु बाजेले कतिपय जग्गाको कुत बुझाउन सकेनछन्। कति जायजेथा घर–गृहस्थी चलाउँदा बन्धक राख्नुपरेछ१ त्यही बन्धकी उकास्न नसक्दा जायजेथा गुमेर उनीहरू सुकुम्बासीको हालतमा पुगेछन्।

‘साहू–महाजनकहाँ बन्धक राखेको जग्गा उकास्न सक्नुभएनछ। यसै गरी जग्गा–जमिन सकिँदै गएर सुकुम्बासी बन्ने अवस्थामा पुग्यौं,’ रोशनीले भनिन्।

यो उनीहरूको एक्लो नियति होइन। झापा, मोरङ सुनसरीमा रहेका मोचे समुदायको साझा नियति यही हो।

नेपालमा १२५ जातजातिमध्ये ५९ आदिवासी सूचीकृत छन्। त्यसमध्ये ११ आदिवासी तराई भेगमा बस्छन्। ५९ मध्ये १० जाति लोपोन्मुख छन्।यी सबैको कथा रोशनीको परिवारसँग मिल्दोजुल्दो छ।मानिसले आफ्नो कथा बदल्न सक्छ!

‘मलाई सानैदेखि आफ्नो कथा बदल्न सकिन्छ भन्ने लाग्थ्यो। त्यसैले सामाजिक गतिविधि सक्रिय हुँदै गएँ। त्यसले मलाई समाझ बुझ्न अझ मद्दत गर्‍यो,’ रोशनीले सुनाइन्।

झापा, साविक धाइजन गाउँविकास समिति वडा नम्बर ३ मा जन्मिएकी हुन् रोशनी। अहिले उनी जन्मिएकी ठाउँ मेचीनगर नगरपालिका वडा नम्बर १२ पर्छ।

आफ्नो नियति बदल्न हिँडेकी हुन् रोशनी।

‘शिक्षाले मात्रै नियति बदल्न सकिन्छ भन्ने विश्वास थियो। झापाको उदाउँदो विकासले हाम्रो आँगनसम्म पनि यो चेतना आइपुगेको थियो,’ उनले सुनाउँदै गइन्, ‘घर–परिवारले पनि शिक्षामै जोड दियो।’

उनको घर नजिकै बलभद्र माध्यामिक विद्यालय थियो। उनको अक्षरारम्भ त्यहीँ भएको हो।

२०५५ सालमा विद्यालय शिक्षा पूरा गरेकी रोशनीले समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छिन्।

त्यसो त उनले कानून संकायमा स्नातक पनि गरेकी छिन्। २०७४ सालमै अधिवक्ताको लाइसेन्स लिएकी उनले कानूनी अभ्यासचाहिँ गरिनन्।

सिमान्तकृत समुदाय हो मेचे। आँखै अगाडि अरू जातिको उत्थान हुँदै गएको र आफ्नो समुदायचाहिँ पछाडि पारिँदै गएकाप्रति उनी चिन्तित थिइन्।

मेचे समुदायको विकासका लागि कसरी योगदान दिन सकिन्छ भनेर उनी सोचिरहन्थिन्।

यही क्रममा उनले २०६४ सालमा अध्यापन पनि गरिन्।

‘मेचे समूदायका बालबालिका स्कुलको पहुँचमा थिएनन्। उनीहरूलाई कसरी शिक्षासँग जोड्न सकिन्छ भनेर सोच्दै जाँदा बालविकासको कक्षा पनि पढाएँ,’ उनले भनिन्।

रोशनीको घर नजिकै अम्मर प्राथमिक विद्यालय थियो। त्यहाँ पनि उनले अध्यापन गरिन्। त्यो निजी विद्यालय थियो।

१२ वर्षको उमेरदेखि नै उनीमा नजानिँदो तरिकाले राजनीतिप्रतिको झुकाव बढ्यो।

‘राजनीति केहो थाहा थिएन१ तर आन्दोलनहरूमा सरिक हुँदै गएँ,’ उनले भनिन्, ‘त्यही क्रममा हाम्रो ठाउँमा जनजाति विकाससँग सम्बन्धित एउटा परियोजना आएको थियो। त्यसमा सामाजिक परिचालक भए पनि काम गरेँ।’

त्यही जिम्मेवारीले समाजको चेतनासँग साक्षात्कार गराउँदै लगेको उनले बताइन्।

उनी किशोरकालदेखि नै वामपन्थीस विशेषतः नेकपा ९एमाले० सँग जोडिएकी थिइन्। उनका बुवा पनि राजनीतिकरूपले क्रियाशील थिए। उनी पार्टी कमिटीमा आवद्ध थिएनन्। तर पार्टीको प्रतिवद्ध सदस्य थिए।

‘मलाई आदिवासी जनजाति, सिमान्तकृतहरूको हकहित, अधिकार, तिनको सवालको सम्बोधन गर्ने पार्टी नै एमाले हो भन्ने लाग्यो,’ उनले भन्दै गइन्, ‘सबै वर्गका आवश्यकताको सम्बोधन गर्ने, सबै जाति, जनजातिलाई एकताबद्ध बनाउँदै सामाजिक पुँजीका रूपमा विकास गर्ने ठानेर एमाले पार्टीमा आवद्ध भएँ।’

उनी एमालेको जनसंगठनमा क्रियाशील छन्। उनी अहिले लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्य छिन्। यसको अध्यक्ष पाशाङ शेर्पा छन्।

त्यस्तै उनी नेपाल आदिवासी, जनजाति महासंघको केन्द्रीय उपाध्यक्षसमेत भइसकेकी छिन्।

मेचे समुदायको मूल थलो झापा हो। झापाको मेचीनगर, बिर्तामोड नगरपालिका, हल्दिबारी, कचनकबल गाउँपालिकामा पनि उनीहरूको बासस्थान छ।

त्यसका अलावा मोरङ र सुनसरी जिल्लामा पनि फाट्फुट्ट मेचे भेटिन्छन्।

नदी छेउछाउलाई आधार बनाएर बस्ने यस सिमान्तकृत समुदायको ५ हजार १९३ कुल जनसंख्या रहेको छ। लोपोन्मुख समुदाय भएकाले सरकारले मासिक ४ हजार भत्ता पनि दिँदै आएको छ।

यस समुदायबाट स्नातकोत्तर उत्तीर्ण गर्ने आफू एक्ली महिला भएको पनि दाबी गरिन्। उनका अनुसार यही समूदायका पुरूष सन्तलाल मेचेले विद्यावारिधि गर्दैछन्।

एमालेले यही समुदायकी कुमारी मेचेलाई संविधान सभा सदस्य बनाएको थियो। २०७४ को निर्वाचनमा वपडाध्यक्षसहित चार–पाँचजना जनप्रतिनिधि निर्वाचित थिए।

अहिले मेचीनगर र हल्दिबारीमा एक–एक जना वडासदस्य निर्वाचित भएका छन्। प्रतिनिधित्व घट्दै गएको छ।

रोशनीलाई २०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकका लागि जिल्ला प्रदेशले नाम सिफारिस पनि गरेका थिए।

उनी २०७९ माघ १५ गतेदेखि नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा छिन्।

‘अध्यक्षज्यूले सचिवालयमा बस्न भन्नुभयो। मलाई एउटा काम पनि चाहिएको थियो। अध्यक्षज्यूले नै प्रस्ताव गरेपछि खुसी लाग्यो,’ उनले भनिन्।

मेचे प्रधानमन्त्री केपी शर्मा ओलीले रोशनी सचिवालयमा नियुक्त गरेका छन्। उनको कार्यविभाजन भने भइसकेको छैन।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी उपमहासचिव विष्णु रिमाल नियुक्त भएका छन्। आर्थिक सल्लाहकामा पूर्वअर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा झापाकै एक सिमान्तकृत समुदायको महिलालाई छान्नुलाई अर्थपूर्णरूपमा लिएको उनले बताइन्।

‘अहिले शासन सञ्चालनको ठाउँमा पुगेको छु। हाम्रो समुदायको राजनीतिक चेतना पनि न्यून छ। राज्यसत्तामा त पहुँच नै छैन। कसरी राज्य चल्छ भनेर अनुभव लिने ठाउँमा आइपुगेको छु। प्रधानमन्त्रीज्यूले दिनुभएको यो अवसरलाई उचित उपयोग गर्नेछु,’ उनले भनिन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्रीको सचिवालयलाई समावेशी बनाउन रोशनी मेचेलाई समावेश गरिएको बताउँछन्।

‘मेचे पछाडि पारिएको र सिमान्तकृत समुदाय हो। लोपोन्मुख पनि हो। त्यो समुदायलाई प्रधानमन्त्रीको सचिवालयमा सहभागी गराएर राज्यको समावेशी चरित्रलाई वहन गर्न खोजिएको हो। हामी ती समुदायको पक्षमा छौँ भनेर पनि सन्देश दिन खोजिएको हो,’ उनले भने।

भर्खरै

सम्बन्धित खबर

Language »