काठमाडौं। रसुवाको धुन्चे र गोसाइँकुण्ड जाने बाटाहरू यतिखेर सहर र गाउँका दुवैथरी यात्रुले खचाखच छन्।
हिन्दु देवता शिव र बौद्धमार्गीले पुज्ने गुरू रिम्पोचेको बास रहेको ठानिने गोसाइँकुण्डमा जनै पूर्णिमा बेला वर्षकै ठूलो मेला लाग्छ।
त्यसैले त, धुन्चे बजार पूर्वको त्रिशूली खोलापारि नगुम गाउँका पेमासिंगी तामाङ आफ्ना श्रीमती याङ्जी र काखे छोरा नोर्बुसिंगीलाई लिएर जनै पूर्णिमाभन्दा १० दिनअघि नै गोसाइँकुण्ड जाने बाटोमा बसाइँ सरिसकेका छन्।
उनीहरूले धुन्चेदेखि एक घन्टा पूर्व पर्ने घट्टेखोलामाथि बेथानखोरको डाँडामा झाडी फाँडेर प्लास्टिकले छोपिएको थर्पु बनाइसकेका छन्।
अन्य थर्पुमा जस्तै उनीहरूको थर्पुमा विभिन्न सहरी खाजाको चाङमा गाउँमा फलेका स्याउ, च्याउ र निउरो विशेष देखिन्छन्। त्यहाँ करिब २० यात्रुलाई खाने र सुत्ने अस्थायी व्यवस्था गरिएको छ।
गत साउन २३ गते बिहीबार झमक्कै साँझ पर्दा त्यहाँ पुगेको मलाई त्यो थर्पुमा मीठो निन्द्रा पर्यो।
‘बसेको र साँझ खाएको एक हजार रूपैयाँ दिनुहोला,’ भोलिपल्ट बिहान विदा हुने बेला पेमासिंगीले भने।
उनीहरूजस्तै अन्य सयौं रसुवाली तामाङहरू यात्रुलाई गाँसबास व्यवस्था गर्न सपरिवार भार्कु र स्याब्रुजस्ता गाउँबाट माथि उक्लिइसकेका छन्। उनीहरू हरेक जेठमा गंगा/दशहरा मेला र भदौमा जनै पूर्णिमा बेला यसै गर्छन्।
थर्पु चलाउने स्थानीयलाई जस्तै रसुवाका प्रमुख जिल्ला अघिकारी वेदनिधि खनाललाई पनि गोसाइँकुण्ड मेला व्यवस्थापन गर्न भ्याइनभ्याइ छ। भन्छन्, ‘१३ वटा उपसमिति बनाएका छौं। ती उपसमितिले स्वास्थ्य, सुरक्षा, गाँसबासको दर जस्ता विषय अनुगमन गरिरहेका छन्।’
जनै पूर्णिमा बेला धुन्चेमा चटारो बढ्नुको कारण हो — मेलाको १५ दिन अवधिमा गोसाइँकुण्डमा चारै दिशाबाट करिब १५ हजार यात्रु आउने अनुमान।
‘सबै जनै पूर्णिमाकै दिन आउने होइनन्,’ रसुवाका प्रजिअ खनालले भने, ‘उनीहरू यो १५ दिन अवधिमा चारवटै बाटोबाट गोसाइँकुण्ड आउँछन्।’
ती चार बाटा हुन् — रसुवाको धुन्चेबाट घट्टेखोला हुँदै सुरू हुने उकालो; रसुवाको स्याब्रु वा लाङटाङ क्षेत्रबाट ठूलो स्याब्रु हुँदै उक्लने घोडेटो; सिन्धुपाल्चोक र नुवाकोट सिमानामा पर्ने कुटुमसाङ, ठाडेपाटी हुँदै लाग्ने घोप्टेको गोरेटो; र नुवाकोटको शिखरबेँसी, दुप्चेश्वरबाट माथि जाने नयाँ उकालो।
जुनै बाटो गए पनि गोसाइँकुण्ड जान सजिलो छैन।
समुद्री सतहबाट झन्डै ४४०० मिटरमा रहेको तालमा पुग्नुपर्ने भएकाले सास फुल्ने ठाडो उकालो नउक्ली सुखै छैन। त्यसैले यो जनै पूर्णिमाको साइतमा गोसाइँकुण्ड वा अरू कुनै हिमाली ताल जाँदै हुनुहुन्छ भने यी ५ कुरामा सावधानी अपनाउनै पर्छ।