काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा ३१ साउनमा भएको दुर्घटनामा ट्राफिकमाथि आक्रमण गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका ५ घर भएका ३१ वर्षीय सुवास बस्नेत, कपिलवस्तुका २६ वर्षीय सुदिप पराजुली, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डी गढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगर छन् ।
उनीहरुलाई ११ भदौमा भक्तपुरका विभिन्न ठाउँहरुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए । पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
३१ साउनमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८०४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका स्कुटर चालक ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।ट्राफिकले जाँच गर्न स्कुटर रोक्दा दुर्घटना भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरु व्यक्तिहरुले ट्राफिक प्रहरीमाथि समेत आक्रमण गरेका थिए । ट्राफिकले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।
प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी वेद विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो ।
प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबलदार बहादुरे राउत र भक्तपुरको गट्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए ।
प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पुर्याएका थिए । आक्रमणमा उत्रिएकाहरु मध्ये प्रहरीमाथि हातपात गर्नेहरुलाई पहिचान गरेर अहिले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी यसअघि मृतक स्कुटर चालक आफ्नी बहिनी भएको बताउँदै प्रहरीको सम्पर्कमा पुगेका शम्भू नेपालीलाई हिरासतमा लिएर प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाएको थियो । उनी भने रिहा भइसकेको एसपी विष्टले बताए ।