सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

त्रिविले अनलाइनमार्फत पठनपाठन गर्ने, जेठ महिनासम्मका सबै परिक्षा स्थगित


काठमाडौं, चैत २८

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह (मास्टर्स डिग्री)को पढाइ अनलाइनमार्फत गर्ने भएको छ । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले स्नातकोत्तर तह र त्यस भन्दा माथिल्लो तहको पठनपाठन तत्काल अनलाइनमार्फत सुरु गर्न निर्देशन दिएका छन् । उनले डिन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीको सहमतिमा सम्भव भएसम्मका विषय पठनपाठन गर्न निर्देशन दिएका छन् ।

अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने पूर्वाधार विकास, प्राध्यापकहरूलाई चाहिने अभिमुखीकरण तालिम, सहज तथा द्रुत इन्टरनेट उपलब्धताका लागि विश्वविद्यालयले स्रोतको खोजी गर्ने जनाएको छ । आवश्यक नीतिगत निर्णय प्रक्रिया अघि बढाउने भएको छ । अनलाइनबाट सम्भव नभएका, पूर्वाधार नभएका र प्रयोगात्मक कक्षा पठनपाठन सुरु हुनेबित्तिकै गर्ने जनाएको छ । त्यसैगरी, स्थगन गरिएका परीक्षा लकडाउनको अन्त्यपछि सहज वातावरण सिर्जना भएपछि क्रमशः नयाँ परीक्षा तालिका बनाई सञ्चालन गर्ने भएको छ ।

भिडियोमार्फत कक्षा सञ्चालन

कोरोना भाइरसका कारण भौतिक रूपमा विद्यार्थी कक्षाकोठामा उपस्थित हुन सक्ने अवस्था नभएपछि कतिपय शैक्षिक संस्थाले भिडियोमार्फत कक्षा सञ्चालन सुरु गरेका छन् । प्रविधिको पहुँच भएका शैक्षिक संस्थाले कोर्स पूरा गर्नका लागि भिडियोमार्फत कक्षा सञ्चालन गरेका हुन् । कक्षा ११ को कोर्स पूरा नभएको तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालन भएका प्रविधियुक्त शैक्षिक संस्थाले भर्चुअल कक्षा सञ्चालन गरेका हुन् । कोरोना भाइरसले अतिप्रभावित देशमा समेत अनलाइन कक्षा सुरु भएका छन् ।

विश्वविद्यालयका उपकुलपतिहरूसँग शिक्षामन्त्रीको भिडियो मिटिङ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिहीबार साँझ सबै विश्वविद्यालयका उपकुलपतिहरूसँग भिडियो मिटिङ गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न परिस्थितिमा विश्वविद्यालयले खेलेको भूमिका, स्वयंसेवक परिचालन र अनलाइन एजुकेसनको तयारीबारे उनले उपकुलपतिहरूसँग छलफल गरेका थिए ।

छलफलका क्रममा त्रिविका उपकुलपतिले सबै प्रयोगशालालाई प्रयोगमा ल्याउने गरी काम गरेको, अनलाइन एजुकेसन प्रणालीमा जाने तयारी भइरहेको, शिक्षकको क्षमता विकासका लागि काम भइरहेको, कोरोना संक्रमण फैलिन नदिन सचेतनामूलक अडियो, प्रकाशन र अपिल निकालेकोलगायत जानकारी दिए । साथै, स्वयंसेवकका लागि बायोमेट्रिक, बायोलोजी, शिक्षण अस्पतालको विज्ञको टिम परिचालन गर्न सकिने उनले बताए । छलफलमा काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, राजर्षि जनक विश्व विद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, खुला विश्वविद्यालयका उपकुलपतिको सहभागिता थियो ।

अनुसन्धानको जिम्मेवारीमा छुटेपछि आलोचना

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालले माइक्रोबायोलोजी, बायोटेक्नोलोजी र भौतिकशास्त्र विभागलाई नेपालमा पाइएको कोभिड–१९ को अनुसन्धान गर्न जिम्मेवारी दिएका छन् । यस्ता प्रकृतिका अनुसन्धानमा रशायनशास्त्रको ठूलो भूमिका रहने भए पनि उपकुलपतिले त्यसलाई वास्ता नगरेकोमा आलोचना भएको छ ।

यस्तै, कोभिड–१९ ले नेपालको अर्थ व्यवस्थामा पुर्‍याउने प्रभावसम्बन्धी अनुसन्धानको जिम्मा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)लाई दिइएको छ । सामाजिक तथा मानवीय क्षेत्रमा पुर्‍याउने प्रभावसम्बन्धी अनुसन्धानको जिम्मेवारी नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)लाई, महामारीले पुर्‍याउने क्षति न्यूनीकरण गर्न के–कस्तो वैज्ञानिक उपकरण आवश्यक पर्छ भन्ने विषयमा अध्ययन गर्न व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)लाई दिइएको छ । विश्वविद्यालयले लामो समयसम्म पठनपाठन र परीक्षा अवरुद्ध हुँदा के–कस्ता पठनपाठन विधि र पद्धति अवलम्बन गरेर शैक्षिक क्यालेन्डर नियमित र व्यवस्थित गर्न सकिन्छ भन्नेलगायतका शैक्षिक गतिविधिको अनुसन्धानको जिम्मा शिक्षा विकास तथा अनुसन्धान केन्द्रलाई दिएको छ ।

नेपालमा देखिएको कोरोना भाइरसबारे त्रिविका केन्द्रीय विभाग, अनुसन्धान केन्द्रहरूले अध्ययन सुरु गरे पनि बजेट नजुट्दा समस्या भएको छ । त्रिविका उपकुलपति बाँस्कोटाले केन्द्रीय विभाग र अनुसन्धान केन्द्रहरूलाई कोरोना भाइरसको असरबारे अध्ययन गर्न निर्देशन दिए पनि बजेट भने नजुटेको बताए ।

त्रिविले केन्द्रीय विभाग र चारवटा अनुसन्धान केन्द्रलाई कोभिड–१९ र यसको असरबारे अनुसन्धानका लागि छुट्टाछुट्टै जिम्मेवारी दिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीले नेपालको सामाजिक, आर्थिक, शैक्षिक, मनोवैज्ञानिक तथा मानवीय क्षेत्रमा अल्पकालीन र दीर्घकालीन के–केस्ता असर पुर्‍याउँछ, त्यसको विस्तृत अनुसन्धान गर्न निर्देशन दिइएको छ । त्यस्ता अनुसन्धानले सरकारको आगामी नीति र त्रिविले खेल्ने भूमिकाबारे प्रतिवेदन दिन केन्द्रीय विभाग र अनुसन्धान केन्द्रहरूलाई निर्देशन दिएका छन् ।

त्रिविका जेठ महिनासम्मका सबै परिक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले जेठसम्म गर्ने गरी यसअघि निकालेका परिक्षाका सबै सूचि स्थगित गरेको छ । कोरोना महामारीका कारण यसअघि नै प्रकाशित भएका परिक्षाका तालिकाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।

यसअघि नै निधारित गरिएका बैशाख र जेठका परिक्षाहरु अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरसको महामारीलाई मध्यनजर राख्दै यो दुई महिनासम्म सञ्चालन हुनेगरी तोकिएका सबै परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको विश्वविद्यालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, बी.बी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षाहरु स्थगित गरिएका हुन् । त्यस्तै, पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका नियमित तथा आंशिक परीक्षा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »