बुटवल । ग्रील तथा स्टिल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारणसभा भव्यताको साथ सम्पन्न भएको छ ।
महासंघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष अशोक बर्माको अध्यक्षतामा ग्रील तथा स्टील व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न साधरणसभामा महासंघका उपाध्यक्ष शंसोदिन शेष ,महासचिव विवेकदास श्रेष्ठ,काठमाडौं जिल्लका अध्यक्ष सुनिलकुमार अमात्य तथा बिभिन्न जिल्लाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बुटवल बेलबास स्थित नमस्ते पार्टी प्यालेसमा भएको साधारणसभामा बोल्ने वक्ताहरुले ग्रील तथा स्टिल व्यवसायीहरुका मागप्रति तीनै तहका सरकार उदासीन हुंदा व्यवसाय संकटमा परेको गुनासो गर्नु भएको छ ।
साधारणसभाका प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष ठूलोबाबु श्रेष्ठले सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना नगर्दा युवा पलायनले ग्रील तथा स्टील व्यवसायमा दक्षकामदार अभाव हुँदा व्यवसाय धान्नै गाह्रो भएको बताउनु भयो । श्रेष्ठले ग्रीलजन्य फलामको मनपरी मूल्यवृद्धि हुने गरेको, ग्रील जोनका लागि जग्गा व्यस्था नहुंदा थुप्रै समस्या भोग्नुपरेको बताउनु भयो । देशभर ११ हजार व्यवसायी र २ लाख कामदार रहेको ग्रील व्यवसायीलाई विद्युत महसुलमा छुट हुनुपर्ने श्रेष्ठले माग गर्नुभयो ।
महासंघका लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष तथा महासंघका उपाध्यक्ष अशोक बर्माले रोल्पा र रुकुम बाहेक १० जिल्लामा संगठन विस्तार भएको जानकारी गराउंदै बिना दर्ता घर घरमा औजार सहित पुगेर अवैध व्यवसाय गर्नेलाई करको दायरामा ल्याउन माग गर्नुभयो ।
उनले छड सिमेन्ट बाहेक फलामजन्य सामान खरिदमा भ्याटमा दर्ता भएको फर्म अनिवार्य गर्न माग गरे । यसो गर्दा सरकाररलाई राजस्व वृद्धि हुने, अवैध रूपले काम गरेका मजदुर वैध व्यवसायमा आउने बताए । उनले प्रदेशका एक हजार व्यवसायी मिलेर प्रति व्यवसायी एक लाख शेयरका दरले एक अर्ब लगानीमा कम्पनी स्थापना गरेर ग्रील व्यवसायलाई आवश्यक कटिङ्ग व्हील, वेल्डिङ मेसिन, ग्रेन्डर मेसिन, ड्रिल मेसिन आफै उत्पादन गरी देश व्यापी बिक्री वितरण गर्ने योजना रहेको र यसले मेशिन खरिदमा वर्षेनी विदेश जाने करोडौं रकम स्वदेशमै रोकिने बताउनु भयो ।
कार्यक्रममा महासंघका लुम्बिनी उपाध्यक्ष ओम बहादुर ओली, महासचिव रामप्रसाद पाण्डे,महासंघका केन्द्रीय सदस्यहरु, लुम्बिनी प्रदेश अन्तरगतका विभिन्न जिल्लाका अध्यक्ष र पदाधिकारी तथा प्रतिनिधिहरुले समेते व्यवसायिक हक हितका लागि एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनु भयो ।

युवाहरुको वैदेशिक पलायनताले दक्ष कामदारको अभावमा ग्रील तथा स्टील व्यवसाय बिस्थापित हुँदै छ : अध्यक्ष ठुलोबाबु श्रेष्ठ








