काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलस्थित बुद्धचोकमा रहेको वि प्ले स्पोर्टस् एरिनामा असोज २५ गते ‘बिएमजे दशैं कप–२०८३’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्थापनाको छोटो समयमै विभिन्न खेलकुद गतिविधिका लागि आकर्षणको केन्द्र बन्दै गएको वि प्ले स्पोर्टस् एरिनामा बिएमजे रिलोडेड क्लबको आयोजनामा एकदिवसीय फुटबल प्रतियोगिता हुन लागेको हो।
बिएमजे रिलोडेड क्लबका अध्यक्ष पवन खत्री र वि प्ले स्पोर्टस् एरिनाका सञ्चालक तथा व्यवस्थापक आङछिरिङ शेर्पाका अनुसार प्रतियोगिता असोज २५ गते एकै दिन सञ्चालन हुनेछ। प्रतियोगितामा कति वटा टोली सहभागी हुने भन्ने विषयमा भने अझै अन्तिम निर्णय भइनसकेको अध्यक्ष खत्रीले जानकारी दिए। सहभागी टोलीको संख्या तथा खेलसम्बन्धी अन्य विवरण आयोजकले पछि सार्वजनिक गर्ने जनाएको छ।
दशैंको अवसरलाई खेलकुदसँग जोड्दै आयोजना गर्न लागिएको प्रतियोगिताले स्थानीय तथा आसपासका फुटबलप्रेमीलाई प्रतिस्पर्धात्मक खेलको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

