सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडाध्यक्षलाई विद्युत पोलमा बाँधेर कुटपिट

काठमाडौं। दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३  का ५० वर्षीय वडाध्यक्ष कुलबहादुर कार्कीलाई राति विद्युतको पोलमा बाँधेर निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नम्बर ९ डौंसुरका चार जना युवाहरूको समूहले चैते दसैंको दिन राति ९ बजेतिर वडाध्यक्ष कार्कीलाई विद्युत पोलमा बाँधेर निर्घात कुटपिट गरेका थिए। 

कुटपिट गरिएका कार्की नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्। कार्कीलाई राति पोलमा बाँधेर कुटपिट गरिएको भिडिओ फेसबुकमा राखिएको थियो।

दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालका अनुसार वडाध्यक्ष कार्कीले चैत २७ गते बेलुकी जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूमाथि भएको कुटपिटमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीका लागि उजुरी दिएका थिए।

कार्कीले कुटपिट गर्नेहरूविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी उजुरी दिएका थिए।

त्यो उजुरीका आधारमा प्रहरीले सोही दिन राति साढे ९ बजेतिर स्थानीय ३३ वर्षीय नगेन्द्र रावल, २४ वर्षीय टोपेन्द्र रावल र १९ वर्षीय विशाल खड्कालाई नियन्त्रणमा लिएको थियो।

वडाध्यक्षले किटानी जाहेरी दिएकामध्ये स्थानीय २१ वर्षीय वीरेन्द्र खड्का भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए।

वडाध्यक्ष कार्कीका अनुसार उनी त्यस दिन आफन्तको घरतर्फ जाँदै थिए। आफन्तको घर नपुग्दै चार जना युवाले बाटो छेकेर आफूमाथि कुटपिट सुरू गरेको उनले बताएका छन्।

कुटपिट गर्दै भुइँमा लडाएपछि घिसारिएको र पोलमा पुर्‍याएपछि बाँधेर कुटपिट सुरू गरिएको उनले बताएका छन्।

‘मेरो दुवै खुट्टा, आँखा र शरीरका विभिन्न भागमा नीलडाम छन्,’ उनले भने, ‘होटलमा खाजा खाएर पैदल हिँडिरहेको समयमा मलाई घेरेर कुटपिट गर्दै पोलमा बाँधे। चरम यातना दिए।’

कुटपिटमा संलग्न युवाको भने फरक भनाइ छ। वडाध्यक्ष कार्की परस्त्रीलाई मोटरसाइकलमा राखेर जाँदै गरेको अवस्थामा फेला पारेपछि सबक सिकाउन पोलमा बाँधिएको उनीहरूको दाबी छ।

‘राति साढे दस बजेतिर एक जना स्थानीय महिलालाई मोटरसाइकलमा राखेर वडाध्यक्ष जाँदै गरेको देखेपछि सार्वजनिक पदमा बसेको व्यक्तिले  त्यसो गर्नुहुँदैन भनेर सबक सिकाइएको हो,’ उनीहरूले भनेका छन्।

वडाध्यक्ष कार्कीले भने उक्त कुरा स्वीकार गरेका छैनन्।

‘म सरकारी मोटरसाइकल लगेर चामुण्डा बिन्द्रासैनी नगरपालिकाको डौंसुर पुगे पनि त्यतिखेर होटलमा नास्ता खाएर एक्लै पैदल हिँडिरहेको थिएँ,’ उनले भने ‘यो आरोप झूटो हो।’

दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले वडाध्यक्ष कार्कीले कुनै गल्ती वा कमजोरी गरेको भए पनि त्यसरी कानुन हातमा लिएर कुटपिट गर्नु गैरकानुनी भएको र सोहीअनुसार कारबाही हुने बताए।

‘वडाध्यक्षबाट कुनै गल्ती वा कमीकमजोरी भएको थियो भने पनि प्रहरीलाई तत्काल खबर गरी कानुनी कारबाहीका लागि भूमिका खेल्न सकिन्थ्यो,’ उनले भने ‘त्यसरी रातिमा मानिसलाई नियन्त्रणमा लिएर पोलमा बाँधेर कुटपिट गर्नु कानुनविपरीतको कार्य हो। त्यहीअनुसार कारबाही हुन्छ।’

पक्राउ परेका तीन जनामाथि जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »