– माधव घिमिरे ‘अटल’
काठमाडौं । ‘फिर्दोसको साँचो’ कथासङ्ग्रहका कृतिकार राजबाबु श्रेष्ठ ‘सागर’ नेपाली साहित्यिक क्षेत्रमा एउटा जल्दोबल्दो नाम हो । महाकाव्य, खण्डकाव्य वा पद्य विधाबाहेक लगभग सबैजसो साहित्यिक विधामा कलम चलाउने ‘सागर’ले चौध वर्षको उमेरमै नाटक लेखन, मञ्चन र निर्देशन गरेका थिए ।
प्रमुख अतिथि नबनाइएको तथा माला, खादा आदिले झकिझकाउ नगरिएको अलिक पृथक् अनुभूति दिलाउने उक्त कार्यक्रमका प्रमुख टिप्पणीकार तथा समीक्षक प्रा.डा. रामप्रसाद ज्ञवालीले कृति मन पर्नु वा नपर्नुमा अनेक विषयले काम गर्ने भन्दै कोण प्रतिकोणबाट प्रश्न उठाए । खासगरी प्राक्कथनमा समेटिएका विषयमा ज्ञवालीले शालीन विमति व्यक्त गरे ।
नेपालको सन्दर्भमा जातभन्दा वर्गीय समस्या मूल हो भन्ने विषयलाई सागरले मुखरित गरेको भए पनि यथार्थता योभन्दा पृथक् हुन सक्ने अभिमत ज्ञवालीले प्रकट गरे । कथामा प्रयुक्त कथ्य आफैँमा बाझिनु शुभ लक्षण नभएको उनले सङ्केत गरे । बुनोटको कोणबाट भने कथाहरू साँच्चिकै राम्रा भएको उनको कथन थियो ।
आवेगले विवेकमाथि जब विजय प्राप्त गर्दछ तब कसरी नैतिकता कसरी खिइन्छ भनेर बेजोड ढङ्गले उनेको ज्ञवालीले उल्लेख गरे । यौन मात्र हो त कथावस्तु भन्ने विषयमा सागरले पुनर्विचार गर्नुपर्ने ज्ञवालीको राय थियो । उनका कथामा यथार्थवाद, अतियथार्थवाद, आदर्शवाद तथा प्रयोगवादको भरपुर प्रयोग भएको उनले उल्लेख गरे ।
जीविकाको साहित्य वा जीवनको साहित्य के लेख्ने भन्नेबारे आफूले निर्क्यौल गर्नुपर्ने वा कुन बाटो रोज्नुपर्ने भन्ने लेखककै छनोट हुनुपर्ने भन्ने भन्दै आफ्नो साहित्यले समाजलाई सकारात्मक रूपान्तरण गर्न सक्छ/ सक्दैन भन्ने विषयमा आँखीभौँ खुम्च्याउनु पर्ने उनको दृढ विश्वास थियो । अर्का वक्ता डा.अर्चना थापाले कथा फरक ध्येयले पढ्ने भन्दै कथाभित्र कथाको प्रयोग अत्यन्त सराहनीय भएको बताइन् । वर्गीय विभेद न्यूनीकरण भएमा जातीय विभेद कम हुन सक्ने भनेर केही कथामा भनिए पनि वस्तुगत स्थिति हेर्दा त्यसलाई आफ्नो मगजले भने सहज स्विकार्न नसकेको उनले बताइन् ।
फरक संस्कृतिका कुरा ल्याउन सक्नु उनको सबलता भएको उनले दाबी गरिन् । पुरूस्वत्व विषयमा ‘सागर’ स्थापित मान्यताबाट माथि उठेको किन्तु महिलामाथि हुने विभेदभन्दा माथि उठ्न नसकेको थापाको स्पष्टोक्ति थियो । अर्की टिप्पणीकार अनुपमा रेग्मीले ‘फिर्दोसको साँचो’मा अलग अलग खाले एघार वटा कथामा जादुमय यथार्थको प्रस्तुत गरिएको खुलासा गरिन् ।
लोक विश्वासलाई जादुयी तरिकाले प्रस्तुत गर्ने ‘सागर’ले स्वैर कल्पना तथा परामनोविज्ञानलाई प्रयोग गरेको रेग्मीको कथन थियो । कृतिकार राजबाबु श्रेष्ठ ‘सागर’ले आफ्नो लेखनप्रति आफ्नै परिवार उदासीन भएकोमा दुखेसो व्यक्त गरे । छाप्नु अगावै झन्डै एक दर्जन फरक पेसा र भूमिकाका पाठकलाई आफ्ना सिर्जना देखाएको र उनीहरूको वाहवाहीबाट आफू हौसिएको दृष्टान्त पेस गर्दै उनले बजारको माग सम्बोधन गर्न आफूले यसखाले कृति प्रकाशन गरेको गुह्य खोले ।
पटक-पटक भावकको समर्थन खोजेका उनले आफ्नो कृति नवीन प्रयोग भएको भन्दै कृतिलाई पढिदिन विशेष आग्रह गरे । कार्यक्रमको दैलो उघार्ने सिलसिलामा डा. अशोक थापाले उपन्यासको मूल कथ्यमा प्रवेश गर्दै उपस्थित सबै अतिथि तथा भावकलाई स्वागत गरेका थिए ।
पुस्तक इन्डिगो इङ्कले बजारमा ल्याएको हो ।









