मंसूर अली इद्रिशी
नेपालगन्ज, बाँकेको राप्ती पारी नरैनापुर गाउँपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने भोज भगवानपुर क्षेत्र हुँदै भारतबाट नेपाल तर्फ दैनिक लाखौं रुपैयाँ बराबरको अवैध सामानको तस्करी भइरहेको पाइएको छ। भारतको उत्तर प्रदेश अन्तर्गत पर्ने श्रावस्ती जिल्लाको जमुनहा बजारबाट सामान भित्र्याएर राप्ती नदी हुँदै भोज भगवानपुर सीमा क्षेत्रबाट तस्करी भइरहेको एक हप्ताको स्थलगत रिपोर्टिङका क्रममा स्थानीय संवाददाताको सहयोगमा भिडियो सहित प्रमाण प्राप्त गरेको छ।

उक्त क्षेत्रमा गंगापुर बीओपीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारीको नेतृत्वमा रहेको छ। तर तस्करी यति व्यापक रहेको अवस्थामा पनि सशस्त्र प्रहरीले कुनै कारबाही नगरेको देखिँदा सुरक्षा संयन्त्र नै संलग्न भएको आशंका गरिएको छ। सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरू राति र दिउँसैको समयमा तस्करी हुनेबेला मौन देखिन्छन्।
स्थानीयवासीहरूका अनुसार तस्करहरू राप्ती नदी प्रयोग गरी राति र दिउँसै पनि आवतजावत गरिरहेका छन्। भोज भगवानपुर र गंगापुर क्षेत्र हुँदै विभिन्न किसिमका सामान—चिनी, दाल, तेल, सिगरेट, मदिरा, लत्ताकपडा, मेकअप सामग्री लगायतका सामग्री नेपाल भित्र्याइँदै आएको स्थानीयले बताएका छन्।
गंगापुरका एक स्थानीय बासिन्दाका अनुसार प्रहरीको जानकारीमा नै तस्करी भइरहे पनि उनीहरूले देखेझैँ नगर्ने गरेका छन्। अर्को स्थानिय गेन्दवा भर्ताका बासिन्दाले नाम नखुलाउने सर्तमा रातिको समयमा सशस्त्र प्रहरीको सेटिङमा ठूला परिमाणमा तस्करी भइरहेको खुलासा गरे।
सशस्त्र प्रहरी बल नेपाल गंगापुर विओपीको मताहतमा रहेको नरैनापुर हुलाकी राजमार्ग दोन्द्रा नजिकै पोस्टमा सशस्त्र प्रहरीको ड्युटी समेत नरहेको पाइएको छ। यसले सजिलै अनुमान गर्न सकिन्छ तस्करको लागि पोस्ट नै खाली गरिएको सशस्त्र प्रहरीमाथि स्थानीय बासीले आरोप लगाएका छन्।
लिमरा खबरले तस्करीको विषयमा थप जानकारी लिन नरैनापुरस्थित सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्मका प्रमुख (डिएसपी) गजेन्द्र चन्द्रलाई सम्पर्क गर्दा मोबाइल नं. ९८५१२५९४५३ मा पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन। यसबाट समेत सुरक्षाकर्मीहरूको भूमिकामाथी प्रश्न उठेको छ।
स्रोतका अनुसार सीमा क्षेत्रमा सुरक्षाको नाममा सशस्त्र प्रहरीको उपस्थिति भए पनि अवैध क्रियाकलाप नियन्त्रणमा ल्याउन कुनै प्रभावकारी कदम चालिएको छैन। भारत–नेपाल सीमा खुला भएको तथा राप्तीनदीमार्ग सजिलो भएको कारणले पनि तस्करी मौलाएको हो।
सम्बन्धित सुरक्षा निकायको उदासिनताले सीमावर्ती क्षेत्रमा अवैध कारोबार झन बढ्दै गएको देखिन्छ। यदि यस्ता गतिविधि तत्काल नियन्त्रण गरिएन भने यसले राष्ट्रिय सुरक्षामै खतराको संकेत दिन सक्छ। सम्बन्धित निकायहरूले तत्काल प्रभावकारी निगरानी र कारबाहीको रणनीति अवलम्बन गर्न आवश्यक छ।








