नेपालगन्ज , बाँकेमा मालपोतका एक कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेलाई आज नियन्त्रणमा लिएको हो ।

पाण्डे समेतले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (विचौलिया) मार्फत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीले खरिदार पाण्डेलाई विचौलियामार्फत सेवाग्राहीसँग बीस हजार रुपैयाँ घुस/रिसवत लिई तिवारी रेष्टुरेण्टका संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उक्त रकमसहित पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ति पुन र घनश्याम तिवारीलाई नियन्त्रण लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता राजेन्द्र प्रसाद पौडेलले जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।








