सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेमी टिमुरेको परिचयात्मक तथा प्रवर्धनात्मक कार्यक्रम सुसम्पन्न


– माधव घिमिरे ‘अटल’

चन्द्रकोट गाउँपालिका तथा गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपालको संयुक्त आयोजनामा गाउँ गन्तव्य परिचयात्मक तथा प्रवर्धनात्मक कार्यक्रम टिमुरे होम स्टे चन्द्रकोट गा. पा. वार्ड नं.-४, गुल्मीमा एक विशेष समारोहबीच सम्पन्न भयो ।

सो समारोहको प्रमुख अतिथि हुनुहुथ्यो- नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा ‘कमल’ भने विशेष अतिथि हुनुहुन्थ्यो- चन्द्रकोट गापाका अध्यक्ष युवराज केसी । अन्य अतिथिहरूमा चन्द्रकोट गा.पा. वार्ड नं.- ४ का वडाध्यक्ष बलबहादुर बस्नेत, होटल व्यवसायी महासङ्घका महासचिव शङ्कर भण्डारी, भिटोफ-नेपालका सल्लाहकार प्रा.डा. प्रेम शर्मा, टानका पूर्व उपाध्यक्ष डा. तेज गुरूङ, भिटोफ-नेपालका पूर्व अध्यक्ष शिव लामिछाने तथा चित्रबहादुर गुरुङ, जीटीनका पूर्व अध्यक्ष एवम् टानका सदस्य अम्बिर गुरूङ, भिटोफ-नेपाल पोखराका पूर्व अध्यक्ष रविन्द्रराज पौडेल, प्रथम उपाध्यक्ष हरिशरण थपलिया, द्वितीय उपाध्यक्ष मनहरि दाहाल, महासचिव चोपेन्द्रबहादुर खड्का, टानका पूर्व सदस्य ठाकुरप्रसाद सापकोटालगायत सिङ्गो कार्यसमिति, विभिन्न दलका प्रमुखहरू, टिमुरे सामुदायिक होमस्टेका अध्यक्ष मीनबहादुर गुरुङ लगायत हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अभ्यागत रामप्रसाद सापकोटा ‘कमल’ले पर्यटनका हिसाबले नेपाल एउटा उत्कृष्ट गन्तव्य भएकोमा दुई मत छैन । पर्यटन क्षेत्रबाट मात्र हामीले अन्य विकसित देशसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने दाबी गर्नुभयो । केवल ग्रामीण पर्यटनले यहाँका स्थानीयवासीको आर्थिक उपार्जनमा महत्त्वपूर्ण देन दिन सक्छ भन्दै उहाँले सानो लगानी गरी यसलाई ‘साइड बिजनेस’ मात्र बनाउन सुझाउनुभयो । यसले ठूलो मुनाफा दिन नसक्ने भएकाले एकैपटक आम्दानी लिने भन्ने हुँदैन । भिटोफ-नेपालले पुलको काम गर्न मात्र सक्ने कुरा अध्यक्षले राम्ररी बुझेकोमा उहाँको प्रशंसा गर्नुभयो । स्थानीय उत्पादनले आगन्तुक पाहुनाहरूलाई स्वागत गर्नुपर्ने उहाँको राय थियो ।

विशेष अतिथि चन्द्रकोट गापाका अध्यक्ष युवराज केसीले यो कार्यक्रमले आफूहरू अत्यन्त हर्षित भएको बताए । काठमाडौँबाट आउनुभएका पर्यटनविद्ले यो गाउँलाई पर्यटनसँग जोड्न प्रयत्न गरेकोमा केसीले भिटोफ-नेपालको मुक्तकण्ठले सराहना गर्नुभयो । ऐतिहासिक चन्द्रकोट तथा दिब्रुङलाई पर्यटकीय गन्तव्यस्थल बनाउन आफूहरूले काम गरिरहेको केसीको भनाइ थियो । आय आर्जनमा पुरुषहरूको क्रियाशीलतालाई बढाउनुपर्ने उहाँको सुझाव थियो ।

सल्लाहकार डा. प्रेम शर्माले संस्कार, संस्कृति र कलालाई अक्षुण्ण राखेमा मात्र पर्यटन प्रवर्धन गर्न सकिने बताउनुभयो । आधारभूत तालिममा यहाँको उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने सिकाउन जरूर भएको उहाँको जिकिर रह्यो । यो कला र गलाको जमाना भएकाले यहाँका सारा सम्पदा संरक्षण गर्ने मात्र होइन प्रस्तुति र प्रदर्शन गर्न पनि उहाँको आग्रह थियो ।
चन्द्रकोट गापा-४ का वडाध्यक्ष बलबहादुर बस्नेतले थला परेको रेमी टिमुरे सामुदायिक घरवासले अब फड्को मार्ने विश्वास व्यक्त गरे । पर्यटन विकाससँगै टिमुरे दह लगायत महत्त्वपूर्ण ऐतिहासिक धरोहरलाई संरक्षण, प्रचारप्रसार र विकास गर्न आफूहरू दिलो ज्यान दिएर लाग्ने वाचा गरे । विभिन्न झाँकीहरूले स्वागत गर्न पाएकोमा हर्ष व्यक्त गरे।

भिटोफ-नेपालका पूर्व अध्यक्ष तथा तारा गाउँ विकास समितिका पूर्व सदस्य शिव लामिछानेले यहाँको संस्कार र सेवा हेर्दा नमुना गन्तव्य स्थल घोषणा गर्न ढिलो भएको बताउनुभयो । समय सापेक्ष विकास गर्न आवश्यक भने सधैँ रहिरहने उनको कथन थियो ।

होटल व्यवसायी महासङ्घका अध्यक्ष शङ्कर भण्डारीले लामो दूरी पार गरेर पर्यटन क्षेत्रमा चन्द्रकोट आउने सबै आगन्तुकप्रति आभार प्रकट गर्नुभयो । यो कार्यक्रम संयोजनमा आफूलाई विशेष भूमिका प्रदान गर्नुहुने सबैलाई भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँहरुको संस्कारयुक्त सेवाप्रति सिङ्गो घरवास सञ्चालक टिमलाई भण्डारीले कृतज्ञता ज्ञापन गर्नुभयो ।

पर्यटनविद् डा. भरत बडालले रेमी टिमुरेले अबका दिनमा घरवासबाट मात्र समृद्धि र विकास हासिल गर्न सक्ने बताउनुभयो ।

समापन मन्तव्य प्रकट गर्दै अध्यक्ष सकुन्तला पाण्डे देवकोटाले पर्यटनलाई गाउँमुखी बनाउन आफूहरू विगत अट्ठाइस वर्षदेखि लागि परेको बताउँदै भिटोफ-नेपालले प्रवर्धन गरेका घरवासहरू निकै राम्रो गरी सञ्चालन भएका आधा दर्जन दृष्टान्त प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा पञ्चेबाजालगायत लाखे नाच, सालैजो नृत्यबाट पाहुनाहरूलाई स्वागत गरिएको थियो । कार्यक्रम समापनपछि आमन्त्रित अभ्यागतहरूलाई मायाको चिनो पनि अर्पण गरिएको थियो ।

स्वागत नृत्यबाट स्थानीयले तथा भिटोफ-नेपालका तर्फबाट प्रथम उपाध्यक्ष हरिशरण थपलियाले स्वागत गरेको उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष देवकोटाले गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »