नेपालगञ्ज , नेपाली काँग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री एवम् नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०२औं जन्म जयन्तीका अवसरमा नेपालगञ्जमा वृक्षारोपण गरिएको छ ।

नेपाली काँग्रेस बाँकेको आयोजनामा नेपालगञ्जको वडा नम्बर १ र १८ को सीमानामा पर्ने वाटरपार्कस्थित चिल्ड्रेन पार्कमा वृक्षारोपण कार्यक्रम गरिएको थियो । एक औपचारिक कार्यक्रमका बीच प्रमुख अतिथि नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व बाँके पार्टी सभापति किरण कोइरालाले विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेकी थिइन् ।
वृक्षारोपणमा नेपाली काँग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरी, बाँके पार्टी सभापति नारायण प्रसाद गौडेल, उपसभापतिद्वय गोपाल प्रसाद अधिकारी र कृष्ण कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद थारु लगायत पार्टी नेता तथा कार्यकर्ताहरुले पनि विभिन्न जातका विरुवा रोपेका थिए ।
वृक्षारोपण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेतृ कोइरालाले नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाले देखाएको वाटोमा पार्टीका सबै कार्यकर्ता इमान्दारितापूर्वक हिँड्न सके नेपाली काँग्रेसलाई कसैले परास्त गर्न नसक्ने बताइन् ।
पार्टीका नेता गिरीले नेपाली काँग्रेसलाई एकताको कसीमा बाँधिराख्न, संगठन मजबुत बनाउन, गुटउपगुटको अन्त्य गर्न, कार्यकर्ताको सक्रियता बढाउन पार्टीमा अब सक्षम नेतृत्वको खाँचो रहेको औंल्याए ।
कार्यक्रमको अध्यक्षता गरेका बाँके पार्टी सभापति गौडेलले जुँगाको लडाइँले पार्टी संगठन बलियो हुन नसक्ने भन्दै स्वर्गीय गिरिजा प्रसाद कोइरालाको नेतृत्व जस्तै पार्टीलाई हाँक्न सक्ने नेताको खाँचो रहेको बताए ।








