काठमाडौं । सिराहा गोलबजार नगरपालिका-१३ का अपहरणपछि हत्या भएको १६ वर्षीय अभिषेक सिंहको घटनामा अनुसन्धान गर्न प्रहरीले कुकुर परिचालन गरिएको छ।
घरबाट नजिकै शव भेटिएकाले घटनास्थल आसपास घरहरूमा सर्च गर्नका लागि कुकुर परिचालन गरिएको हो।
मधेस प्रदेश प्रहरी कार्यालयबाट ‘ट्रयाकर डग’ लाई घटनास्थलमा प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाको प्रहरी निरीक्षक (इन्स्पेक्टर) धर्मेन्द्रकुमार यादवले जानकारी दिए।
‘कुकुरले घटनास्थलको आसपास खोजतलास गर्ने काम भइरहेको छ,’ इन्स्पेक्टर यादवले भने।
ट्रयाकर डग हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिन्छ।
कुकुर परिचालन गरेर घटनास्थल आसपास केही सामाग्रीहरू भेटिएको छ। आसपासका मानिसहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको स्रोतले जानकारी दियो।
अभिषेकको शव भेटिएनजिकै एउटा सानो खाल्डोपनि खनेको अवस्थामा भेटिएको स्थानीयहरूले बताएका छन्। अनुसन्धानकै विषय भएकाले थप केही भन्न नमिल्ने प्रहरीको भनाइ छ।








