काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा भएको १८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ३३ लाख रुपैयाँको कारोबार गर्दै सकिएको छ ।
असोज २९ गते देखि सुरू भएको मेलामा मेलाको अन्तिम दिन आइतबारमात्र २८ लाख रुपैयाँ बढीको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए । मेलामा भिजिटर सोचेभन्दा कम भएपनि कारोबार रकम भने बढेको उनले बताए ।
मेलामा विशेष गरी गोदावरी, सयपत्रीको लगायत सिजनेवल फूल तथा बोटबिरुवाहरुको कारोबार बढी गरिएको बताउँदै फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले फूल पारखीहरुको संख्या बढ्दै गएको बताए ।
देशको राजनैतिक अवस्थाका कारण पनि अवलोकनकर्ताहरु सोचेभन्दा थोरै कम भएको अनुमान गर्दै फ्यानका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले गत वर्षको मेलाभन्दा यो पटक फराकिलो र व्यवस्थित भएको बताए ।
नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
गोदावरी फूलको एक मात्र बृहत प्रदर्शनी रहेको यस मेलमा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु रहेको थियो ।
विगत वर्षमा झैं यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ)मा प्रतिस्पर्धा गरिएको थियो ।







