सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बन्यो विश्व स्ट्रोक संगठनबाट ‘एडभान्स स्ट्रोक सेन्टर’ का रुपमा मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल

काठमाडौँ — ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल विश्व स्ट्रोक संगठनबाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्र ‘एडभान्स स्ट्रोक सेन्टर’ का रुपमा मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको छ ।

विश्व स्ट्रोक सेन्टर (डब्लुएसओ) ले ग्राण्डी अस्पतालको गुणस्तरीय सेवाको मूल्यांकन गरी अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा गत शुक्रबार उक्त मान्यता प्रदान गरेको अस्पतालले जनाएको हो ।

मस्तिष्कघात विश्वव्यापी रुपमा हुने मृत्यु र शारीरिक अशक्तताको मुख्य कारण रहेको जानकारी दिँदै नेपालमा प्रत्येक १० मिनेटमा एक जना व्यक्ति मस्तिष्कघातबाट पीडित हुने न्यूरोलोजिस्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा. राजु पौडेलले बताए । पौडेलका अनुसार विश्वव्यापी रुपमा हरेक चार सेकेन्डमा एक जनालाई मस्तिष्कघात ‘स्ट्रोक’ हुन्छ ।

नेपालजस्ता विकासोन्मुख देशमा यस्ता समस्या धेरै बढेको र भयावह अवस्था रहेको उनले बताएका छन् । ‘विश्वव्यापी रुपमा नै हेर्ने हो भने स्ट्रोक हुनेको संख्या धेरै नै बढेको छ । विकसित देशमा ७०/७५ वर्ष भएका समूहलाई यस्तो समस्या भएको देखिन्छ । नेपालजस्ता विकासोन्मुख देशमा युवालाई देखिन्छ,’ उनले भने, ‘स्ट्रोकको समयमै उपचार भएमा बिरामीको जीवन बचाउनको साथै, अपांगताबाट बचाउन सकिन्छ । नेपालमा मुटुको समस्या भएर त्यसपछि रगतको ढिक्का गएर मस्तिष्कमा असर गर्ने समस्याहरु धेरै देखिन्छ ।’ सरकारले हरेक प्रदेशमा स्ट्रोक उपचारको लागि अस्पतालको राम्रो व्यवस्था गर्नुपर्ने पौडेलले जनाएका छन् ।

अस्पतालका न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयालका अनुसार मस्तिष्कघात भएको बिरामीको उपचार गर्दा प्रत्येक क्षण महत्त्वपूर्ण हुने बताएका छन् । अस्पतालले नेपालभरका बिरामीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको मस्तिष्कघात उपचारमा सहयोग पुर्‍याउन मद्दत गर्ने उनले जानकारी दिए ।

अस्पतालका निर्देशक डा. विनोद बिजुक्छेले नेपालमा न्यूरोलोजिकल उपचार विकास गर्न, मस्तिष्कघात उपचार र बिरामीको हेरचाहको लागि उच्चतम अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहेको जनाएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले एडभान्स्ड स्ट्रोक सेन्टरका लागि निम्न मापदण्डहरु अवलम्बन गरेको बताएको छ :

– चौबिसै घण्टा उपलब्ध हुने मस्तिष्कघात सम्बन्धी विशेषज्ञ समूह ।

– उच्चस्तरीय प्रविधिका न्यूरोइमेजिङ

–सरल र सहज रुपमा दूत प्रशासनिक सेवा

–मस्तिष्कघातको उपचारका लागि तीव्र गतिको कार्यविधी

–उपचारपश्चात निरन्तर चिकित्सकीय निगरानी र पुनर्स्थापना सेवा

–आरिएसक्यु रजिस्ट्री प्रयोग गरेर निरन्तर गुणस्तर र परिणाम निगरानी

विश्व स्ट्रोक संगठनका विशेषज्ञहरूको टोलीद्वारा अस्पतालको स्ट्रोक उपचार पूर्वाधार, क्लिनिकल प्रोटोकल, बिरामीहरूको परिणाम, र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूको मूल्यांकनले गर्दा अस्पतालले उक्त मान्यता प्राप्त गरेको जनाएको छ ।

मस्तिष्कघात अगाडि देखापर्ने लक्षण :

–व्यक्तिको एक्कासि अनुहार बांगो हुने

–हातखुट्टा लुलो हुने

–बोली लरबरिने

–आँखा कमजोर हुने

अचानक कुनै पनि कमजोरीपन महसुस भएमा परामर्श लिनुपर्ने डाक्टरहरु बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »