सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्राण्डीमा ‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईयो

काठमाडौँ । काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘विश्व रेडियोग्राफी दिवस’ तथा ’अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइएको छ ।

‘इमेजिङ उत्कृष्टता मार्फत स्वास्थ्य सेवा सशक्तिकरण’ भन्ने मूल नाराका साथ ग्राण्डीमा १३० औँ विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस मनाइएको हो ।

कार्यक्रममा ग्राण्डी अस्पतालका रेडियोलोजी विभागका प्रमुख वरिष्ठ रेडियोलोजिष्ट डा शर्मा पौडेलले प्रविधिको विकाससँगै रेडियोलोजी रोग पत्ता लगाउने र उपचार गर्ने पद्दतीको रुपमा विकास हुँदै गएको बताउनुभयो ।

उहाँले बिरामीको निदान र उपचारमा रेडियोलोजीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । डा पौडेलले रेडियोलोजी विधामा विना चिरफार उपचार गर्ने ‘इन्टरभेन्सन रेडियोलोजी’ र रोग पत्ता लगाउने ‘डाइगोनोष्टिक रेडियोलोजी’मार्फत विरामीको उपचार गर्दे आएको बताउनुभयो ।

विकिरण अर्थात् रेडिएसन आउने एक्स रे बाट सुरु भएको विधा भएकाले यसलाई रेडियोलोजी भनिएको डा पौडेलले बताउनुभयो । उहाँले पछिल्लो समय रेडियोलोजी क्षेत्रमा धेरै प्रगति भएको र विकिरण प्रयोग नगरी गरिने धेरै प्रविधिपनि रेडियोलोजीमा पर्ने गरेको स्पष्ट पार्नुभयो ।

रेडियोलोजीमा विकिरण प्रयोग गरेर गरिने जाँचमा एक्सरे, सिटी स्क्यान, फ्लोरोस्कोपी, न्यूक्लियर मेडिसीन, मेमोग्राफी पर्ने गरेका छन् भने विकिरण प्रयोग नगरी गरिने जाँचमा अल्ट्रा साउण्ड अर्थात् भिडियो एक्सरे, एमआरआईलगायत पर्ने गरेको डा पौडेलले बताउनुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा विनोद विजुक्छेले प्रविधिको विकाससँगै विभिन्न किसिमका उपचारमा रेडियोलोजीको भूमिका झन् बढ्दै गएको बताउनुभयो । मानव शरीरको भित्री अंगमा भएका समस्याहरू बिना चिरफार पत्ता लगाउनका लागि पनि रेडियोग्राफी विधि महत्वपूर्ण हुँदै गएको उहाँको भनाई थियो ।

कार्यक्रममा अस्पतालका वरिष्ठ रेडियोलोजि टेक्नोलोजीष्ट दिनेश मिश्रले रेडियोलोजी सेवा, रेडिएसनका जोखिम र न्यूनीकरणका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउँदै छ ।

कार्यक्रममा अस्पतालका वरिष्ठ रेडियोलोजिसस्ट डा सौरव मल्लले रेडियोलोजीमा प्रयोग हुने कन्ट्रास्टको बारेमा प्रस्तुति दिनुभएको थियो ।

सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले रेडियोग्राफीको आविष्कार गर्नुभएको थियो । वैज्ञानिक रोईन्टजेनले गरेको विकिरण एक्स–रे को आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस मनाईँदै आइएको छ ।

एक्सरेले मानव शरीर भित्रका हड्डिहरूका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्ड, सि टि स्क्यान एम आर आइले शरीर भित्रका अङ्गहरुमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गरेको चिकित्सकहरु बताउँछन् /

भर्खरै

सम्बन्धित खबर

Language »