(नेपाल पशु कल्याण तथा वातावरण समाज)
- अमि कट्टेल (मधु)
सभ्यता केवल उचाइ समातेका भवन, चम्किला सडक वा अत्याधुनिक प्रविधिले मापन हुँदैन । वास्तविक सभ्यता त हामीले कति कोमलतापूर्वक कमजोर, असहाय र आवाजविहीन जीवसँग व्यवहार गर्छौँ भन्ने कुराले निर्धारण गर्छ । यही कारण साना जनावरप्रति माया आजको आधुनिक समाजको पहिलो नैतिकता बन्दै गएको छ । सडकमा भौतारिएका कुकुर, छानामुनि आश्रय खोजिरहेका बिरालो, बिजुलीको तारमा अल्झिएर घाइते भएका चरा, अनि केही दिनमै बाटोको छेउमा फ्याँकिएका साना बच्चा—यिनीहरूले हामीसँग ठूलो अपेक्षा राख्दैनन् ।
उनीहरू केवल डर नदेखाउने हात, भोकले नथर्किनुपर्ने जीवन, र सुरक्षित ठाउँ खोज्छन् । तर यिनै प्राणीमाथि दुर्व्यवहार, कुटपिट, विष खुवाउने, सडकमा बिचल्ली बनाइदिने प्रवृत्ति—हाम्रो समाजमा अझै पनि देखिन्छ, जुन सभ्यताको लागि कलङ्कभन्दा कम छैन । जनावरलाई माया गर्नु कुनै अतिरिक्त उदारता होइन, यो त बाँच्ने हकको सम्मान हो । वाचुन्जेल सास्ती दिनु मानवताको चिनारी हुनै सक्दैन ।
हामीले प्रायः नदेखेझैँ गर्दै हिँड्ने ती साना कुकुरहरू—थकित आँखाले हामीकहाँ आशा बोकेर हेर्दै हुन्छन् । आमाको खोजीमा रोइरहेजस्तो आवाज गर्ने बिरालाहरू—भोकभोकै पसल र घरको छेउमा घुमिरहन्छन् । एक मुठ्ठी चामल, एउटा कटोरी पानी, चिप्लिएर घाइते भएको चरालाई अस्पताल पुर्याउने एककल फोन यी काम साना देखिए पनि कसैको सम्पूर्ण जीवन बदलिदिन सक्छन् ।
“साना सद्कर्महरूको मूल्य विशाल हुन्छ । तपाईंले आज दिएको माया कसैको भोलि बन्न सक्छ ।” कानुनले एउटा सीमा तोक्छ, तर परिवर्तनलाई गति दिने शक्ति समुदाय नै हो । स्कूलदेखि टोल, घरदेखि सडक—जहाँ–जहाँ चेतना फैलिन्छ, त्यहीं–त्यही नयाँ सोच जन्मिन्छ । जस्तै, कुकुरलाई लखेट्न नदिनु, बिरालोलाई तर्साउने झर्का रोक्नु, बालबालिकालाई जनावरप्रति सहानुभूति सिकाउनु ।
यी अभ्यासले नै पशुकल्याणको जग मजबुत बनाउँछन् । जनावरहरूले भाषा बोल्दैनन्, तर माया बुझ्छन् । आफ्नै शरीरमुनि लुकाएर धन्यवाद दिन जान्छन् । दुखाइ तिनीहरूले पनि महसुस गर्छन्, आशा तिनीहरूको पनि हुन्छ । त्यसैले आवाजविहिनहरूको आवाज बन्नु—हाम्रै दायित्व हो । सहानुभूति भएका मानिसहरूले नै समाज उज्यालो बनाउँछन् ।
हामी सबै व्यस्त छौँ—काम, परिवार, जीवनका दायित्व । तर परिवर्तन सुरु गर्न धेरै आवश्यक पर्दैन । भोकाएको प्राणीलाई खाना, तिर्खाएकोलाई पानी,घाइतेलाई उपचार र सबैलाई सम्मान जस्ता साना कामहरूले नै ठूलो प्रभाव पार्छन् । आफ्नो ठाउँबाट सुरु गरौँ। माया गरौँ। किनभने माया नै सबैभन्दा ठूलो परिवर्तन हाे । हामी सबैले आफ्नो ठाउँबाट सानो माया देखाउन सके समाज नै उज्यालो बन्छ—किनकि परिवर्तन सधैं एक सानो कदमबाटै सुरु हुन्छ।








