नेपालगन्ज, दलित महिला संघ (FEDO) बाँकेको १८औँ साधारण सभा आज नेपालगन्जमा सम्पन्न भएको छ। “समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद” भन्ने मूल नाराका साथ आयोजित साधारण सभामा संस्थाले विगत वर्षका गतिविधि, उपलब्धि, वार्षिक प्रतिवेदन तथा आर्थिक स्थिति सार्वजनिक गरेको छ।

कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार संस्था २०५६ सालमा स्थापना भई जिल्लामा दलित महिलाको संगठन, सशक्तीकरण तथा क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। साधारण सभामा बताइएका अनुसार दलित महिला आन्दोलनलाई बलियो बनाउन, उनीहरूको अधिकार स्थापना गर्न र स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सहभागिता बढाउन संस्था निरन्तर क्रियाशील रहेकोछ।
यस आर्थिक वर्ष २०८0 / ८१ को प्रतिवेदनमा संस्थाले प्राप्त गरेका अनुदान, साझेदार संस्था सहयोग, विभिन्न आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो। आर्थिक रूपमा संस्था पारदर्शी रूपमा अघि बढिरहेको जानकारी पनि साधारण सभामा दिइयो।
कार्यक्रममा संस्थाका पदाधिकारीहरूले आफ्नो कार्यकालमा आइपरेका चुनौती, उपलब्धी तथा आगामी योजनाबारे जानकारी गराएका थिए। उपस्थित सदस्यहरूले प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेका छन्।
FEDO बाँकेले आगामी दिनमा पनि दलित महिला अधिकार, समानता, शिक्षा, आर्थिक सशक्तीकरण तथा नेतृत्व विकासका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।







