सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ओ परदेश, किन यति कठोर हौ ?

कविता

रेशम दर्लामी
  (चिन्तन)

काभ्रेपलान्चोक ,खानिखोला
हाल
कतार

बिहानै घर छोड्दा मन कति पोल्यो,
आमाको हात समाउँदा आँसु आफै झर्‍यो।
बुबाले भने—“छोराले हिम्मत गर्नै पर्छ,”
तर उहाँको आवाजमै दुःख लुकेको थियो।


दिदीबहिनीले टोलाएर हेरे—कुरा केही बोलिनन्,
दाजुभाइले कण्डक्टरझैँ हात हल्लाउँदै—“फर्किनु है” भने।
एयरपोर्टमा श्रीमतीको आँसु देखेर मन चिरियो,
छोराछोरीलाई अँगालो हाल्दा हृदय नै भाँचियो।


ओ परदेश, किन यति टाढा बनायौ ?
माया गर्ने सबैलाई किन एकैपटक छोड्न लायौ ?
फोटोमा हाँसो देखिए पनि,
मन भने भित्रैभित्र रुँदै बसेको छ।


यहाँ भाषा बुझिँदैन, बोल्दा गल्ती हुन्छ,
काम गर्न सकिएन भने गाली सहनुपर्छ।
राती कोठामा एक्लै परिएपछि,
आफ्नो मान्छे याद हुँदा आँसु झर्छ।


चाडपर्वको बेला फोनमा घर देखिन्छ,
तर त्यो उज्यालोले मन झनै अँध्यारो बनाइदिन्छ।
आमाबुबा, श्रीमती, छोराछोरी, दाजुभाइ–दिदीबहिनी,
सबैको आवाज सम्झँदा मुटु नै चसक्क बन्छ।


ओ परदेश, किन यति कठोर हौ ?
माया बोकेर आएका मान्छेहरू किन यहाँ रुँनुपर्छ ?
थकाइ शरीरमा लाग्छ,
तर मनमा भने घरकै बोलाहट उठिरहन्छ।


श्रीमतीको मुस्कान सम्झँदा बल आउँछ,
छोराछोरीका सपना सोचेर आँट बढ्छ।
आमाबुबाको आशिर्वाद—सधै साथमा छ,
दिदीबहिनी र दाजुभाइको मायाले फेरि उठाउँछ।


ओ परदेश, पर्ख, म एकदिन फर्कन्छु,
आमाको काख, बुबाको हात, आफ्नै घरमा बस्छु।
आज दुःख सहेर काम गरिरहेको छु,
किनकि भोलि—सबैलाई खुसी दिन्छु।


परदेश त बाटो मात्रै हो,
मेरो मन—मेरो घरमै बस्छ।
जहाँबाट हिँडेँ—
एउटै दिन फेरि फर्कन्छु।

भर्खरै

सम्बन्धित खबर

Language »