नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनसम्बन्धी आयोगका कार्यक्रम स्थगन गर्न माग गरेका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिलाई मान्यता दिएको विरोधमा आज सर्वोच्च अदालतमा रिट दिएका देउवा पक्ष उक्त रिट समावेश गरी निर्वाचन कार्यक्रम स्थगन गर्न माग गर्न निर्वाचन आयोग पुगेका हुन्।
‘निर्वाचन आयोगले नेपाली कांग्रेस पार्टीका सम्बन्धमा गरेको अवैधानिक, असंवैधानिक, गैरकानुनी तथा बदनीयतपूर्ण निर्णयबारे सर्वोच्च अदालतमा रिट निवेदन दिएको हुँदा सर्वोच्च अदालतले निर्णय नगरेसम्म निर्वाचनसम्बन्धी आयोगका कामकारबाही स्थगन गर्न हामीले सर्वोच्चमा दिएको रिट निवेदनको प्रतिलिपीसहित निर्वाचन आयोगमा जानकारी गराउँदैछौं,’ निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सेतोपाटीसँग भने।
देउवा पक्षले आज सर्वोच्चमा दिएको रिटमा उम्मेदवारी चयन रोक्न, निर्वाचन आयोगले दिएको निर्णय बदर गर्न र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्न माग गरेका छन्।
साथै उनीहरूले प्रतिनिधि सभा मनोनयन रोक्न र अर्को मनोनयन मिति तोक्न परमादेश पनि माग गरेका छन्।








