काठमाडौं । लोक तथा दोहोरी गीतका सशक्त गीतकार केशव न्यौपानेले तेस्रो ईण्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२५ मा उत्कृष्ट शब्दतर्फ पब्लिक च्वाइस अवार्ड हासिल गर्नुभएको छ। उहाँले लोकप्रिय गीत ‘सलल पानी’ का मार्मिक र जीवन्त शब्दमार्फत उक्त उपाधि जित्न सफल हुनुभएको हो।
चलचित्र विकास बोर्ड, काठमाडौंमा भव्य रूपमा सम्पन्न उक्त अवार्ड समारोहमा विभिन्न विधाका कलाकारहरूलाई सम्मान गरिएको थियो। तीमध्ये लोक तथा दोहोरी क्षेत्रमा शब्द सिर्जनाबाट विशेष पहिचान बनाउन सफल न्यौपाने पब्लिक च्वाइसबाट उत्कृष्ट शब्दको अवार्ड प्राप्त गर्दै दर्शक–श्रोताको मन जित्न सफल हुनुभएको आयोजकले जनाएको छ।
‘सलल पानी’ गीतले बजारमा उल्लेखनीय लोकप्रियता कमाउँदै सामाजिक सञ्जालदेखि विभिन्न सांगीतिक कार्यक्रममा व्यापक चर्चा पाएको थियो। गीतका शब्दमा मौलिकता, भावनात्मक गहिराइ र सरल प्रस्तुति रहेको भन्दै संगीतप्रेमीहरूले उच्च मूल्याङ्कन गरेका थिए।
अवार्ड ग्रहण गर्दै गीतकार न्यौपानेले आफूलाई माया र समर्थन गर्ने सम्पूर्ण श्रोता–दर्शक तथा सांगीतिक सहकर्मीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि अझ सशक्त र समाजमुखी सिर्जना प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
यस अवार्डले नेपाली लोक तथा दोहोरी संगीतमा शब्द सिर्जनाको महत्वलाई थप उजागर गरेको सांगीतिक क्षेत्रका जानकारहरूको भनाइ छ।








