काठमाडौं । नेपाली सांगीतिक बजारमा यतिबेला नयाँ गीत “रुमाल फाट्यो”ले चर्चा बटुल्न थालेको छ । एनिस एन्जल राईको सुमधुर स्वरमा सजिएको यो गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । प्रेम, विछोड र भावनात्मक उतार–चढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतले छोटो समयमै सामाजिक सञ्जालमा चर्चा कमाउन सफल भएको छ ।
यो गीतका शब्द तुला विष्टले कोरेका हुन् भने संगीत संयोजन र सिर्जनामा विनोद खम्बुको विशेष भूमिका रहेको छ । बिनोद खम्बुको संगीतमा तयार भएको “रुमाल फाट्यो” ले लोक–आधुनिक शैलीलाई समेट्दै नयाँ स्वाद प्रस्तुत गरेको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका हुन्, जसले धुनलाई थप मिठास दिएका छन् ।
गीतको रेकर्डिङ विप्लभ अधिकारील ड्रिम्स् रेकर्डिङ स्टुडियोमा सम्पन्न गरेका हुन् भने मिक्सिङको जिम्मेवारी प्रकाश के.सी.ले सम्हालेका छन् । प्राविधिक रूपमा पनि गीत उत्कृष्ट बनेको प्रतिक्रिया दर्शक श्रोताबाट आइरहेको छ ।
भिडियोतर्फ, मोडल निरुशा भुजेलको आकर्षक अभिनयले कथालाई जीवन्त बनाएको छ । क्यामेरा र भिडियो निर्माण राकेश किराँती र भि गुरुङले संयुक्त रूपमा गरेका छन्। एडिट र कलर ग्रेडिङ पनि भि गुरुङल नै सम्हालेका छन्, जसले दृश्यलाई अझै मनमोहक बनाएको छ ।
यस म्युजिक भिडियोको निर्देशन सुनिल थापा मगरले गरेका हुन् । कथावस्तु र प्रस्तुतीकरणमा उनले देखाएको सिर्जनशीलता दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सफल देखिन्छ ।
“रुमाल फाट्यो” गीतले प्रेम र पीडाको कथा मात्र नभई समकालीन युवा पुस्ताको भावनालाई समेत समेटेको छ । स्वर, संगीत, अभिनय र निर्देशनको सशक्त संयोजनका कारण यो गीत आगामी दिनमा अझै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।
नेपाली संगीत क्षेत्रमा नयाँ उचाइ छुन तयार देखिएको यो सिर्जनाले एनिस एन्जल राई र विनोद खम्बुको सहकार्यलाई दर्शकले खुलेर स्वागत गरिरहेका छन् ।
“रुमाल फाट्यो” गीत अब दर्शकको मन जित्दै सफलताको यात्रामा अघि बढेको छ ।








