काठमाडौं।
बदलिँदो समय, बढ्दो डिजिटल प्रभाव र बालबालिकाको भविष्यलाई सही दिशामा लैजाने अभिभावकीय जिम्मेवारीबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित “Smart Parenting” सम्बन्धी विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
जोरपाटीस्थित विद्या सागर इङ्लिस बोर्डिङ स्कुल को आयोजनामा २०८२ साल फाल्गुन ३० गते Peace Banquet, जोरपाटी मा सम्पन्न कार्यक्रममा ६०० भन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका अभिभावकहरू मात्र नभई आसपासका अन्य विद्यालय तथा समुदायका अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति देखिएको थियो, जसले कार्यक्रमप्रतिको चासो र आवश्यकतालाई झल्काएको छ।
कार्यक्रमका प्रमुख वक्ता प्रसिद्ध काउन्सेलर तथा मोटिभेशनल स्पिकर अशोक दाहाल ले अभिभावकहरूलाई आधुनिक समयअनुसार बालबालिकाको सही मार्गदर्शन, सकारात्मक अभिभावकत्व र बाल मनोविज्ञानका विविध पक्षबारे प्रेरणादायी प्रशिक्षण प्रदान गर्नुभयो।
उहाँले डिजिटल युगमा बालबालिकामाथि प्रविधिको प्रभाव तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै अभिभावकको भूमिका पहिलेभन्दा अझ संवेदनशील र महत्वपूर्ण भएको बताउनुभयो। “बालबालिकालाई सही संस्कार, अनुशासन र सकारात्मक वातावरण दिन अभिभावक स्वयं सचेत र जिम्मेवार हुनुपर्छ,” उहाँले भन्नुभयो।
साथै, विद्यालय र अभिभावकबीचको सुदृढ सहकार्यले मात्र बालबालिकाको समग्र विकास, आत्मविश्वास र उज्ज्वल भविष्य निर्माण सम्भव हुने उहाँको जोड थियो।
कार्यक्रममा बालबालिकाको शिक्षा, मानसिक विकास, अनुशासन, प्रविधिको सही प्रयोग तथा डिजिटल युगमा अभिभावकको जिम्मेवारीजस्ता विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी अभिभावकहरूले कार्यक्रम अत्यन्त उपयोगी, प्रेरणादायी र ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका थिए।
विद्यालय व्यवस्थापनले यस्ता कार्यक्रमले अभिभावक, विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक तथा शैक्षिक कार्यक्रमहरू निरन्तर आयोजना गरिने विद्यालयले जनाएको छ।









