सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारको ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, चालु वर्षमा कति लिइयो र तिरियो?

चालू आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४७.१३ प्रतिशत हुन आउँछ। 

आर्थिक वर्षको सुरूमा (२०८२ साउन १ गते) कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड ७७ लाख रूपैयाँ रहेकोमा फागुन मसान्तसम्ममा २ खर्ब ४ अर्ब २४ करोड रूपैयाँ थप वृद्धि भएको देखिएको छ।

कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत र वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत रहेको छ। फागुन मसान्तसम्मको तथ्यांक अनुसार आन्तरिक ऋण दायित्व १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रूपैयाँ छ।

बाह्य ऋण दायित्व १५ खर्ब ३० अर्ब १८ करोड १० लाख रूपैयाँ छ। विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै बाह्य ऋणमा ९७ अर्ब ९८ करोड बराबरको विनिमय घाटा (दायित्व बढी) भएको छ। 

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने वार्षिक लक्ष्य राखेको थियो। फागुन मसान्तसम्ममा कुल लक्ष्यको ५०.४४ प्रतिशत अर्थात ३ खर्ब ४६ करोड ७२ लाख रूपैयाँ ऋण प्राप्त भएको छ।

यस अवधिमा आन्तरिक ऋण प्राप्ति लक्ष्य अनुसार देखिए पनि बाह्य ऋण प्राप्ति भने लक्ष्यको तुलनामा न्यून छ। आन्तरिक ऋणतर्फ वार्षिक लक्ष्यको ६७.३१ प्रतिशत (२ खर्ब ४३ अर्ब ६६ करोड ६९ लाख रूपैयाँ) प्राप्त भएको छ।

बाह्य ऋणतर्फ लक्ष्यको जम्मा २४.३१ प्रतिशत (५६ अर्ब ८० करोड ३ लाख रूपैयाँ) मात्र प्राप्त भएको छ।

सरकारले चालु आर्थिक वर्षमा ऋणको सेवा शुल्क (सावाँ र ब्याज भुक्तानी) का लागि ४ खर्ब ११ अर्ब १ करोड ३ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। फागुन मसान्तसम्ममा यसको ५८.९४ प्रतिशत अर्थात् २ खर्ब ४२ अर्ब २६ करोड ८६ लाख रूपैयाँ भुक्तानी भइसकेको छ।

यो अवधिमा १ खर्ब ९४ अर्ब १९ करोड ९६ लाख रूपैयाँ बराबरको सावाँ भुक्तानी भएको छ। ४८ अर्ब ६ करोड ९१ लाख रूपैयाँ बराबरको ब्याज भुक्तानी भएको छ।

आन्तरिक ऋणतर्फ सावाँ र ब्याज गरी २ खर्ब ४ अर्ब ८० करोड १६ लाख रूपैयाँ भुक्तानी गरिएको छ भने बाह्य ऋणतर्फ ३७ अर्ब ४६ करोड ७१ लाख रूपैयाँ भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ।

भर्खरै

सम्बन्धित खबर

Language »