सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोमाञ्चक फाइनल, गुञ्जियो गोलको हुंकार — फ्रिडम फाइटर भेट्रान्स च्याम्पियन

काठमाडौं ।WE PLAY SPORTs ARINA फुटसल मैदानमा दुई दिनसम्म चलेको तीव्र प्रतिस्पर्धा, रोमाञ्चक क्षण र दर्शकको चर्को हुटिङबीच फर्स्ट ह्वि प्ले भेट्रान्स फुटसल प्रतियोगिता–२०८२ भव्यताका साथ सम्पन्न भएको छ। ह्वि प्ले स्पोर्ट्स एकेडेमीको आयोजना तथा सञ्चालनमा भएको यस प्रतियोगिताले भेट्रान्स खेलाडीहरूको ऊर्जा, अनुभव र उत्कृष्ट खेल कौशललाई एकै ठाउँमा उजागर गरेको देखियो।

प्रतियोगिताको बहुप्रतिक्षित फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सहाइवे भेट्रान्सबीच जबर्जस्त भिडन्त भयो। खेलको सुरुवातदेखि नै दुबै टोली आक्रामक रणनीतिमा उत्रिएका थिए। दर्शकहरू प्रत्येक पास, प्रत्येक ट्याकल र प्रत्येक आक्रमणमा उत्साहित बनेका थिए। तर खेलको निर्णायक मोडमा फ्रिडम फाइटरले आफ्नो अनुभव र संयमलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्दै ३–१ गोलको स्पष्ट जित निकाल्न सफल भयो।

पहिलो हाफमै अग्रता बनाएको फ्रिडम फाइटरले दोस्रो हाफमा थप दुई गोल गर्दै खेल आफ्नो नियन्त्रणमा राख्यो। हाइवे भेट्रान्सले पनि प्रतिआक्रमण गर्दै एक गोल फर्काए पनि खेलको गति सम्हाल्न सकेन। अन्ततः फ्रिडम फाइटरको सशक्त प्रदर्शनसामु हाइवे टोली नतमस्तक हुन बाध्य भयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पनि सम्मानित भए। फ्रिडम फाइटरका राज पौडेलले आफ्नो निरन्तर प्रभावशाली खेलका कारण ‘म्यान अफ द टुर्नामेन्ट’को उपाधि जित्दै नगद रु १०,००० र ट्रफी हात पारे। त्यस्तै, उत्कृष्ट गोलरक्षकको रूपमा उभिएका सचिन श्रेष्ठले पनि नगद रु १०,००० सहित ट्रफी जित्दै टोलीको जितमा महत्वपूर्ण योगदान पुर्‍याए।

उपाधि विजेता फ्रिडम फाइटर भेट्रान्सले नगद रु १,००,००० सहित ट्रफी र मेडल प्राप्त गर्दा उपविजेता हाइवे भेट्रान्सले नगद रु ५०,००० सहित ट्रफी र मेडलमा सीमित हुनुपर्‍यो।

चैत ४ गतेबाट सुरु भएको यो प्रतियोगिता चैत ५ गते समापन भएको हो। छोटो अवधिमा सम्पन्न भए पनि प्रतियोगिताले खेलप्रेमीहरूलाई भरपुर मनोरञ्जन र उत्साह प्रदान गर्‍यो। अनुशासित, प्रतिस्पर्धात्मक र उत्साहजनक वातावरणमा सम्पन्न भएको यस प्रतियोगिताले आगामी दिनमा अझ ठूला स्तरका फुटसल प्रतियोगिताका लागि आधार तयार गरेको आयोजकले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »