काठमाडौं । कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरमा करिब २ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण गरिएको अन्तर्राष्ट्रिय स्तरको ५ तारे होटेल लेमन–ट्री प्रिमियर औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
होटेलका सञ्चालकहरू विकास चौधरी, विनय चौधरी, कविन श्रेष्ठ, प्रशान्त तातेड र मनोज विक्रम शाहले वैदिक पूजापाठसहित होटेल उद्घाटन गरेका हुन् । उद्घाटन समारोहपछि केही समयभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याइने सञ्चालक कविन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने, “लेमन–ट्री प्रिमियर अन्तर्राष्ट्रिय ब्राण्ड अन्तर्गत सञ्चालन हुने होटेल हो, जसको केन्द्रीय व्यवस्थापन भारतको नयाँ दिल्लीस्थित कार्यालयबाट हुनेछ ।”
८१ कोठा क्षमतासहित निर्माण गरिएको होटेलमा एकैपटक २ सयदेखि २ सय ३० जना अन्तर्राष्ट्रिय पाहुनालाई आवास सुविधा उपलब्ध गराउन सकिने उनले बताए । होटेलमा विशिष्ट व्यक्तिहरूका लागि विशेष स्वीट रुम तयार गरिएको पनि सञ्चालक श्रेष्ठले जानकारी दिए ।
होटेलको कोठा भाडा ८ सय देखि २५ हजारसम्म निर्धारण गरिएको छ ।
होटेलको पाँचौं तल्लामा अत्याधुनिक स्विमिङ पुल निर्माण गरिएको छ, जुन होटलमा बसोबास गर्ने पाहुना तथा क्लब सदस्यहरूले मात्र प्रयोग गर्न पाउनेछन् ।
होटेलमा करिब ६ हजार वर्गफुटको सेमिनार हल रहेको छ, जहाँ एकैपटक एक हजार जनासम्म सहभागी हुन सक्ने क्षमता छ । यस्तै, विभिन्न देशका पाहुनालाई लक्षित गर्दै बहुराष्ट्रिय परिकार उपलब्ध गराउने रेष्टुरेन्टहरू सञ्चालनमा ल्याइएको छ । साथै, मादक पदार्थ सेवनका लागि छुट्टै रेष्टुरेन्टको पनि व्यवस्था गरिएको छ ।
होटेलमा करिब १० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको वेलनेस सेन्टर रहेको छ, जहाँ जिम, जुम्बा, योग, एरोबिक्स, स्टीम, सौना, जकुर्जी, मसाज थेरापी, स्पा, ब्यूटी पार्लर र मेकअप रुमजस्ता सुविधा उपलब्ध रहेको अर्का सञ्चालक मनोज विक्रम शाहले जानकरी दिए ।
उनका अनुसार होटेल पूर्ण रूपमा सञ्चालनमा आएपछि दोस्रो चरणमा क्यासिनो सञ्चालन गर्ने योजना रहेको छ ।
यो परियोजनाले विराटनगरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुका साथै रोजगारी सिर्जना र आर्थिक गतिविधिमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास गरिएको छ ।
५ तारे सुविधासहितको लेमन–ट्री प्रिमियरको आगमनले पूर्वी नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।








