राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वमा सरकार बनेको एक महिना नबित्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्।
सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारीबारे विवाद उत्पन्न भएपछि गृहमन्त्री सुधन गुरूङले बुधबार राजीनामा दिएका हुन्।
त्यसबीचमा उनलाई स्पष्टीकरण सोध्नुपर्ने पार्टीभित्र रास्वपा नेताहरूले नै प्रश्न गरेका थिए।सोमबार र मंगलबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनले उनलाई पटकपटक भेटेर कुराकानी गरेका थिए।
पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरण सोध्नुपर्नेबारे पार्टीभित्रै कुरा उठे पनि आयोगले भने केही पहल गरेन।
अन्ततः उनले सामाजिक सञ्जाल फेसबुकबाटै राजीनामा घोषणा गरेका हुन्।
गुरूङ बालेन सरकारबाट बाहिरिने दोस्रो मन्त्री हुन्।
यसअघि श्रममन्त्री दीपककुमार साहलाई आफ्नो पदीय जिम्मेवारी दुरूपयोग गरी स्वास्थ्य बीमा बोर्डमा श्रीमतीलाई निरन्तरता दिएको भन्दै बर्खास्त गरिएको थियो।
त्यतिबेला पार्टी अनुशासन आयोगको सिफारिसमा प्रधानमन्त्रीले नै मन्त्रीबाट बर्खास्त गरेका थिए।
सँगसँगै स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत पनि गराइएको थियो।








