काठमाडौं । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै उनले बुद्धले देखाएको मार्ग दुःख निवारणको मार्ग भएको उल्लेख गरेका छन् । बुद्धका चार आर्य सत्य स्मरण गर्दै उनले ‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ’ भन्ने शिक्षालाई जीवन मार्गदर्शनका रूपमा लिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले उज्यालो र अँध्यारोको उदाहरण दिँदै ज्ञानको महत्त्वमा जोड दिएका छन् । उनले अँध्यारो उज्यालोको अभाव मात्र भएको उल्लेख गर्दै ज्ञानको प्रकाशले समस्या समाधानतर्फ लैजाने बताएका छन् ।
प्रधानमन्त्री बालेनन्द्र शाहको शुभकामना सन्देश यस्तो छः
बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो होस जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो “ज्ञ” ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।








