सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपाले सार्वजनिक गर्‍यो एकता राष्ट्रिय महाधिवेशन कार्यतालिका

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यसंयोजन समितिको  चैत १९ देखि  दस दिनसम्म भएर वैशाख १४ गते सकिएको बैठकले आगामी मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो।

नेकपा प्रवक्ता प्रकाश ज्वालाले शनिबार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेका हुन्।

जसअनुसार असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्य विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ सम्म वडा तहका अधिवेशन सम्पन्न गर्ने, १६ गतेदेखि भदौ मसान्तसम्म पालिका तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ।

त्यस्तै असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने, कात्तिक १५ गतेसम्म प्रदेशस्तरका अधिवेशन सम्पन्न गर्ने र मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा एकता राष्ट्रिय माहधिवेशन आयोजना गर्ने कार्यतालिका छ।

जेठ मसान्तभित्र एकीकरण तथा समायोजन अन्तर्गत केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मको संगठनात्मक समायोजन प्रक्रिया सम्पन्न गरिने निर्णय भएको छ।

पार्टीका सबै तहका अधिवेशन तथा एकता राष्ट्रिय महाधिवेशन सम्बन्धी दस्ताबेज, प्रतिवेदन तथा कार्यविधिहरूको तयारी केन्द्रीय कार्यसमिति बैठकको निर्णयबाट गरिने पनि प्रवक्ता ज्वालाले जानकारी दिएका छन्।

कार्यसंयोजन समिति बैठकले पार्टीको तत्कालीन कार्ययोजनाको सात रूपरेखा तयार पारेको छ।

पार्टीको वडादेखि केन्द्रसम्मका सबै कमिटीहरू निर्वाचित हुने  र समानुपातिक समावेशी मान्यताअनुसार कमिटी निर्माण हुने तय गरेको छ।

निर्वाचित कमिटीमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाहरुको समावेशिता रहने र त्यसमा नवयुवाहरुको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्‍याइने निर्णय भएको छ।

पार्टी पुनर्गठनसँगै सिंगो कम्युनिस्ट आन्दोलन पुनर्गठन र एकीकृत कम्युनिस्ट पार्टी निर्माणका लागि विशेष पहल गर्ने निर्णय गरेको छ।

पार्टीले सिंगो पंक्तिलाई नियमित रूपमा उत्पादन तथा श्रम कार्यमा जोड्ने अभियान पनि सञ्चालन गर्ने तत्कालीन रूपरेखामा उल्लेख छ।

नेकपाले अन्तरिम बिधान-२०८० अनुसार पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय पनि गरेको छ।

पार्टीको तर्फबाट ११ जना नेता सम्मिलित संविधान संशोधन सुझाव कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।

कार्यदलमा देव गुरूङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ता डा. मुक्तिनारायण प्रधान, वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटा, डम्बर विक्रम कार्की, अधिवक्ता जगदेव चौधरी र डा. रामबहादुर चौधरी छन्।

बैठकले विभिन्न १९ वटा समसामयिक प्रस्तावहरू पारित गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »