सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महासंघ चुनावमा ‘युवा लहर’ : कान्छा उम्मेदवार ध्रुव गौतमको दमदार इन्ट्री, व्यवसायी वृत्तमा हलचल

काठमाडौं। नेपालकै उद्योगी तथा व्यवसायीहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी चुनाव नजिकिँदै जाँदा प्रतिस्पर्धा झन् रोचक र पेचिलो बन्दै गएको छ। यहीबीच पानी उद्योग महासंघका अध्यक्ष ध्रुव बहादुर गौतमले वस्तुगत तर्फ कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएपछि व्यवसायी वृत्तमा नयाँ तरंग पैदा भएको छ।

आफ्नो समूह र एजेन्डासहित मैदानमा उत्रिएका गौतम महासंघको यस पटकको निर्वाचनमा सबैभन्दा कान्छा उम्मेदवारको रूपमा चिनिएका छन्। सानै उमेरदेखि उद्योग र व्यापार क्षेत्रमा सक्रिय रहँदै आएका उनले आफ्नो उम्मेदवारीलाई “परिवर्तन, पारदर्शिता र व्यवसायीको वास्तविक आवाज”को रूपमा प्रस्तुत गरेका छन्।

शिव प्रसाद घिमिरे नेतृत्वको समूहबाट उम्मेदवार बनेका गौतमले आफूलाई सक्षम, ऊर्जाशील र नयाँ सोच बोकेको प्रतिनिधिको रूपमा स्थापित गर्न खोजेका छन्। सो समूहले महासंघको वर्तमान जटिल परिस्थितिमा सुधार ल्याउन सक्ने दाबी गर्दै सम्पूर्ण सदस्यहरूलाई अत्याधिक मतले विजयी गराउन अपिलसमेत गरेको छ।

उद्योग वाणिज्य महासंघ अहिले आन्तरिक प्रतिस्पर्धा, नीतिगत चुनौती र निजी क्षेत्रको दबाबबीच गुज्रिरहेको अवस्थामा युवा नेतृत्वको प्रवेशलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। विशेषगरी, गौतमजस्ता नयाँ अनुहारको उदयले परम्परागत नेतृत्वमाथि चुनौती खडा गरेको विश्लेषण हुन थालेको छ।

व्यवसायीहरूका अनुसार, अहिलेको चुनाव केवल पदका लागि मात्र नभई नीति, नेतृत्व र भविष्यको दिशानिर्देशनका लागि निर्णायक बन्नेछ। यस्तो अवस्थामा गौतमको उम्मेदवारीले युवा पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्ने देखिएको छ।

उता, गौतमले आफ्नो अभियानलाई तीव्र बनाउँदै देशभरका उद्योगी–व्यवसायीसँग प्रत्यक्ष संवाद बढाइरहेका छन्। उनले महासंघलाई अझ प्रभावकारी, व्यवसायमैत्री र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अब हेर्न बाँकी छ—अनुभवी दिग्गजहरूबीच उभिएका यी कान्छा उम्मेदवारले मतदाताको मन जित्न सफल हुन्छन् कि हुँदैनन्। तर यति भने निश्चित छ, ध्रुव गौतमको इन्ट्रीले यसपटकको महासंघ चुनावलाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »