काठमाडौं । नेपाली संगीत बजारमा पछिल्लो समय फरक स्वादका गीतहरू आउने क्रम बढिरहेको बेला गायक श्याम प्रसाद सुवेदी नयाँ प्रयोगसहित दर्शकमाझ आएका छन्। नेपाली र भोजपुरी भाषाको अद्भुत संगममा तयार गरिएको गीत ‘आधा नेपाली आधा भोजपुरी’ को म्युजिक भिडियो सार्वजनिक भएसँगै संगीत वृत्तमा यसको चर्चा चुलिएको छ।
तृष्णा फिल्मस् नेपालको प्रस्तुतिमा निर्माण गरिएको गीतमा शब्द, संगीत र स्वर स्वयं गायक सुवेदीकै रहेको छ। नेपालीपन र भोजपुरी संस्कृतिको आत्मीय सम्बन्धलाई संगीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको यो गीतले भाषाको सीमाभन्दा माथि उठेर भावनाको सम्बन्ध जोड्ने प्रयास गरेको देखिन्छ। संगीत संयोजक सन्तोष प्रगाढ ले गीतलाई आधुनिक र सुगम शैलीमा सजाएका छन्।
बारा जिल्लाको रमणीय कोल्बी बजार तथा आसपासका आकर्षक स्थानहरूमा छायांकन गरिएको भिडियोले ग्रामीण सौन्दर्य, संस्कृति र प्रेमिल भावनालाई जीवन्त बनाएको छ। निर्देशक कृष्ण राजभण्डारी (एसक्यू) को निर्देशनमा तयार भिडियोमा मोडल अग्नि राना मगर र दिब्या बयलकोटी को अभिनयले विशेष आकर्षण थपेको छ।
यसैबीच, गीतको लोकार्पण समारोह सोमबार काठमाडौंस्थित सिन्की भान्छा घरमा सम्पन्न भएको छ। कार्यक्रममा सर्जक विजेन्द्र नौबागे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। पत्रकार डीबी पराजुली, विनोद नेपाली, कलाकार बिरेन्द्र नौभाग्य, मोडल धिरज खत्री, नायक सैलेश पहरी, गायिका श्रद्धा दियाली, बिमला परियार, व्यवसायी मिनबहादुर पहरी, मोडल अशोक कोइराला लगायत कला र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले दुई भाषाको संयोजनमा तयार भएको गीतले नेपाली संगीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले गीतले नेपाल र भोजपुरी भाषी समुदायबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने धारणा राखे।








