सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हिमालयन कम्युनिटी प्रोजेक्टको सन्देश: ‘हिँडौं, घुमौं, स्वस्थ बनौं’

काठमाडौं । “Hike for Health” भन्ने नारासहित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट) ले स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रत्येक शनिबार नियमित हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयोजना हुने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने गरेको छ। कार्यक्रममार्फत सहभागीहरूलाई प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गराउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य रहेको ट्रस्टले जनाएको छ।
ट्रस्टका अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी एवं अभियानका अभियन्ता रामप्रसाद सापकोटा ले व्यस्त शहरी जीवन, धुलो, धुवाँ र कोलाहलबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन हाइकिङ प्रभावकारी माध्यम बनेको बताए।
उनले भने, “चक्रपथबाट केही बाहिर निस्किनेबित्तिकै फरक परिवेश, स्वच्छ वातावरण र प्राकृतिक सौन्दर्य अनुभव गर्न सकिन्छ। यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै नयाँ साथी बनाउने, अनुभव आदान–प्रदान गर्ने र धेरै कुरा सिक्ने अवसर पनि प्रदान गर्छ।”
हिमालयन कम्युनिटी प्रोजेक्टले यस्ता कार्यक्रममार्फत आन्तरिक पर्यटनको विकास, समुदायबीच आपसी सहकार्य तथा स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। सहभागीहरूले पनि कार्यक्रमलाई प्रेरणादायी र प्रभावकारी भन्दै आगामी दिनमा अझ व्यापक रूपमा सञ्चालन गर्न सुझाव दिएका छन्।
प्रकृतिसँगको यात्रा, स्वास्थ्यको आधार र पर्यटन प्रवर्द्धनको अभियानलाई निरन्तरता दिने लक्ष्यसहित ट्रस्टले आगामी दिनमा पनि नियमित हाइकिङ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »