काठमाडौं । प्रतिनिधि सभा बैठकमा मंगलबार नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अनौठो नियमापत्ति गरे।
उनले सभामुख बैठकमा प्रवेश गर्दा दुई जना मन्त्री नउठेको भन्दै नियमापत्ती गरेका हुन्।
प्रतिनिधि सभा नियमावलीको नियम २० को (क) मा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान व्यक्त गर्नुपर्ने व्यवस्था छ।
तर दुई जना मन्त्री नउठेपछि महरले नियमापत्ति जनाएका हुन्।
‘यो सदन गरिमा र मर्यादा हामी सबैको जिम्मेवारी र दायित्व हो। सदनको गरिमा र मर्यादा पालना गर्नेमा सबै जिम्मेवार बन्नुपर्छ’, महरले भने, ‘सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान गर्नुपर्ने भन्ने छ। दुई जना मन्त्री उठ्नुभएन। यसले हामीलाई चिन्तित र गम्भीर बनाएको छ। त्यो भिडिओ रेकर्ड चेक गरेर रूलिङ गर्न आग्रह गर्दछु।’
महरले नउठेका दुई मन्त्रीको नाम भने लिएनन्। तर सांसदहरूका अनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल उठेका थिएनन्। उनीहरू पहिलो लहरको आफ्नो सिटमा नै बसिरहेका थिए।
महरको नियमापत्ति संसदमा रेकर्ड भएको छ तर सभामुख अर्यालले भने आफूलाई सम्मान नगरेका मन्त्रीहरूबारे कुनै रूलिङ गरेनन्।








