काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले मार्गप्रशस्त गर्न माग गरेका छन् ।
खनालले ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै प्रचण्ड-माधवले राजीनामा दिनुपर्ने माग गरेका हुन् । नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिन उनले आग्रह गरेका छन् ।
पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ । त्यसो हुँदा तपाईँ संयोजक र सह(संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नोस् । नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनोस्, त्यो कमिटीले राष्ट्रिय महाधिवेसन गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरोस् ।
उनले पार्टीमा संयोजक र सहसंयोजक तोकेकोप्रति पनि आपत्ति जनाएका छन् ।
पत्रमा भनिएको छ, ‘अहिले तपाईँले २६ वटा घटकहरू एकताबद्ध गरेर अर्को नेकपा घोषणा गर्नुभयो । यस पटक पनि तपाईँले पहिलेको जस्तै संयोजक र सहसंयोजक बनाउनुभएको छ । के यो त्यही “दुई पाइलट” को अर्को संस्करण हो ? त्यति बेला त दुई पार्टी एकीकृत भएकाले दुई पाइलट राखियो भनेर तर्क सम्म गर्न सकिन्छ ।’








