काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय महाधिवेशन प्रतिनिधि हेमबहादुर ढुङ्गेलले जेनजी आन्दोलनका क्रममा दर्ता भएका फौजदारी मुद्दाको पेशी स्थगन गर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयप्रति स्वागत व्यक्त गरेका छन्।
आइतबार जारी विज्ञप्तिमा ढुङ्गेलले जेनजी आन्दोलनलाई हिंसा वा अराजकताको आन्दोलन नभई परिवर्तन, जवाफदेहिता र सुशासनको मागसहित युवापुस्ताले उठाएको आवाजका रूपमा व्याख्या गरेका छन्।
उनले आन्दोलनका क्रममा ज्यान गुमाउने र घाइते हुने घटना कसैको चाहना नभएको उल्लेख गर्दै त्यसको मूल कारण राज्यको दमन र जनअपेक्षाप्रतिको बेवास्ता रहेको दाबी गरेका छन्।
“२३ गते भएको घटना आन्दोलनकारीको रोजाइ होइन, राज्यको तर्फबाट भएको क्रूर दमन र हत्याको परिणाम थियो भन्ने तथ्यलाई समयले प्रमाणित गर्नेछ,” विज्ञप्तिमा ढुङ्गेलले उल्लेख गरेका छन्।
उनले फौजदारी मुद्दाको पेशी स्थगनलाई न्यायिक प्रक्रियालाई निष्पक्ष र वस्तुनिष्ठ ढंगले अगाडि बढाउने सकारात्मक संकेतका रूपमा लिएको बताएका छन्। साथै सत्य, न्याय र उन्नत किसिमको लोकतान्त्रिक अधिकारको पक्षमा आफूहरू दृढ रहेको र परिवर्तनको आवाज दमनबाट नरोकिने धारणा व्यक्त गरेका छन्।
ढुङ्गेलले रास्वपाले सुरुदेखि नै “आक्रोश होइन, समाधान” को नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै आफूलाई “मैदानको कार्यकर्ता, कार्यालयको सेवक” का रूपमा जनतासँग जोडेर काम गर्दै आएको पनि बताएका छन्।









