सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गाँजा तस्कर भन्दै प्रहरीले लखेट्दा पोखरीमा हामफालेका किशोर मृत फेला

काठमाडौं । गाँजा बोकेको भन्दै प्रहरीले लखेट्ने क्रममा पोखरीमा डुबेर विराटनगरका एक जना किशोरको ज्यान गएको घटनाले तनाव निम्त्याएको छ। 

प्रहरीले लेखेट्ने क्रममा पोखरीमा हामफालेका एक किशोरको शव तीन दिनपछि भेटिएको छ।

विराटनगर महानगरपालिका–१८ भेडियारीमा १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान स्थानीय पोखरीमा फेला परेको हो।

 शवलाई पोष्टमर्टमका लागि लैजाने क्रममा आक्रोशित भएका स्थानीयले शव खोजीमा संलग्न रहेका सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेका थिए। 

प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा मृतकका आफन्त पर्ने एक जना युवक पक्राउ परेका छन्। 

प्रहरीले मृतक मञ्जितको शव पोष्टमर्टमका लागि कोशी अस्पताल पुर्‍याएको छ। तर मृतकका आफन्त र स्थानीय बासिन्दाले शव उठाउन अवरोध गरेपछि केही समय अवस्था तनावपूर्ण बनेको हो।

आन्दोलनमा उत्रिएका स्थानीयले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि कारबाही गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै शव लैजान नदिने अडान लिएका थिए। उनीहरूले प्रहरीविरूद्ध नाराबाजी गर्दै सडक अवरुद्धसमेत गरेका थिए।

भीडलाई हटाउन लाठीचार्ज गरेको थियो। 

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार शुक्रबार बिहान करिब १०ः३० बजे पोखरीको बीच भागमा मञ्जितको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको थियो।

बुधबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा बोकेर जाँदै गर्दा प्रहरीको चेकजाँचबाट बच्न उनी मोटरसाइकल छाडेर भागेको प्रहरीको दाबी छ। 

भाग्ने क्रममा उनी नजिकैको पोखरीमा हामफालेर बेपत्ता भएका थिए।

उक्त घटनामा मोटरसाइकलको पछाडि सवार भारतका ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले ६ किलो १३० ग्राम गाँजा सहित पक्राउ गरेको थियो।

बेपत्ता भएका मञ्जितको खोजीका लागि त्यसयता प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »