सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको चौथो अधिवेशन सम्पन्न, सुनिल कुमार अमात्यको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको चौथो अधिवेशन सौहार्दपूर्ण वातावरणमा औपचारिक रूपमा सम्पन्न भएको छ। व्यवसायीहरूबीचको आपसी एकता, सहकार्य र संगठनलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै सफलतापूर्वक आफ्नो कार्यभार सम्पन्न गरेको हो।

अधिवेशनबाट सुनिल कुमार अमात्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी भरत लामिछाने वरिष्ठ उपाध्यक्ष, राम प्रमोद ठाकुर प्रथम उपाध्यक्ष, विष्णु कुमार श्रेष्ठ द्वितीय उपाध्यक्ष, गोपाल कार्की तृतीय उपाध्यक्ष, यामबहादुर श्रेष्ठ (पशुपति) महासचिव तथा भेषबहादुर श्रेष्ठ कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी सदस्य पदमा रामकुमार श्रेष्ठ, गोपालचन्द्र देवकोटा, माननाथ नेपाल, उत्तम श्रेष्ठ (दिनेश), श्रीकुमार श्रेष्ठ तथा रामचन्द्र नगरकोटी निर्विरोध चयन भएका छन्। सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन हुनुले संघभित्रको आपसी विश्वास, सहकार्य र संगठनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागी व्यवसायीहरूले बताएका छन्।

अधिवेशनलाई निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगबाट सम्पन्न गराउन अधिवक्ता बलराम झाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिमा विवेक दाहालमहेन्द्र भट्टराई निर्वाचन अधिकृतका रूपमा रहेका थिए।

निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया विधिसम्मत रूपमा सम्पन्न भएको घोषणा गर्दै सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको थियो। त्यसपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराई निर्वाचित भएको प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो। यस अवसरले लोकतान्त्रिक अभ्याससँगै संगठनात्मक अनुशासन र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

नवगठित कार्यसमितिलाई ग्रील तथा स्टील व्यवसायी संघ भक्तपुरका जिल्ला अध्यक्ष किशोर खाईतु, ग्रील तथा स्टील व्यवसायी संघ ललितपुरका जिल्ला अध्यक्ष भागवत सुवेदी, ग्रील तथा स्टील व्यवसायी महासंघका महासचिव विवेकदास श्रेष्ठ तथा महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

शुभकामना व्यक्त गर्ने वक्ताहरूले नयाँ नेतृत्वले व्यवसायीहरूको हक, हित र अधिकार संरक्षणका साथै व्यवसायमा देखिएका चुनौतीहरूको समाधान, व्यावसायिक क्षमता अभिवृद्धि तथा संघको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनीहरूले संगठन बलियो भए मात्र व्यवसायीहरूको आवाज प्रभावकारी रूपमा सम्बन्धित निकायसम्म पुग्ने भएकाले सबै व्यवसायी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित अध्यक्ष सुनिल कुमार अमात्यले आफूलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी सुम्पने सम्पूर्ण व्यवसायीप्रति हार्दिक आभार व्यक्त गरे। उनले अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संघलाई अझ सक्रिय, व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले संघ कुनै एक व्यक्ति वा सीमित समूहको नभई सम्पूर्ण ग्रील तथा स्टील व्यवसायीहरूको साझा संस्था भएकाले सबैलाई साथमा लिएर अघि बढ्ने आफ्नो पहिलो प्राथमिकता रहने स्पष्ट पारे। बन्दसत्रका क्रममा व्यवसायीहरूसमक्ष व्यक्त गरेका प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्ने, व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने तथा नयाँ पुस्ताका व्यवसायीलाई समेत संगठनमा जोड्दै व्यावसायिक वातावरणलाई थप सुदृढ बनाउने उनले बताए।

अध्यक्ष अमात्यले व्यवसायीहरूबीच आपसी विश्वास, सहकार्य र भाइचाराको भावना अझ सुदृढ बनाउँदै संघलाई उदाहरणीय संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे। उनले व्यवसायीहरूको हकहित संरक्षण, सीप विकास, व्यवसायको आधुनिकीकरण तथा राज्यका नीतिगत तहमा व्यवसायीहरूको आवाज सशक्त रूपमा उठाउने दिशामा नयाँ कार्यसमिति पूर्ण प्रतिबद्ध रहने विश्वास दिलाए।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न चौथो अधिवेशनले संगठनभित्रको लोकतान्त्रिक संस्कार, आपसी समझदारी र एकताको सशक्त सन्देश दिएको सहभागीहरूको भनाइ छ। नयाँ नेतृत्वसँग व्यवसायीहरूले ठूलो आशा र विश्वास व्यक्त गरेका छन्। आगामी कार्यकालमा संघले व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राख्दै अझ प्रभावकारी, उत्तरदायी र परिणाममुखी ढंगले काम गर्ने अपेक्षा गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »