सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिपेश एसकेको नृत्य निर्देशन तथा अभिनय रहेको “मैच्याङले छोड्दियो” गीत सार्वजानिक हुँदै

काठमाडौं । नेपाली मौलिक लोक–आधुनिक संगीतप्रेमीका लागि अर्को नयाँ कोसेली चाँडै सार्वजनिक हुने भएको छ । दिपेश एसकेको नृत्य निर्देशन तथा अभिनय रहेको “ मैच्याङले छोड्दियो” गीत सार्वजानिक हुने तयारीमा रहेको मोडल तथा नृत्य निर्देशक दिपेश एसकेले जानकारी दिएका छन् ।
चर्चित सर्जक सुरेश लामाको शब्द तथा संगीतमा तयार गरिएको नयाँ गीत “मैच्याङले छोड्दियो” सार्वजनिक हुने घोषणा भएसँगै सामाजिक सञ्जालदेखि संगीतप्रेमीमाझ यसको चर्चा तीव्र बन्दै गएको छ ।
सार्वजनिक गरिएको आकर्षक पोस्टरले नै गीतप्रति दर्शक–श्रोताको उत्सुकता निकै बढाएको छ । हिमालको काखमा अवस्थित रमणीय गाउँ, प्रकृतिको अनुपम सौन्दर्य, मौलिक पहिरनमा सजिएकी युवती र आत्मविश्वासले भरिएका पात्रहरूको उपस्थितिले यो गीत केवल मनोरञ्जनमा सीमित नरही नेपाली गाउँ, संस्कृति, प्रेम र पहिचानको भावनात्मक कथा बन्ने संकेत दिएको छ ।
गीतको भिडियोमा गाउँघरको सरल जीवन, निष्कलंक प्रेम, मौलिक संस्कार र नेपालीपनलाई अत्यन्त जीवन्त ढंगले प्रस्तुत गरेको तथा आधुनिकताको भीडमा हराउँदै गएको गाउँको सुगन्ध, आफ्नोपन र सांस्कृतिक पहिचानलाई पुनः स्मरण गराउने प्रयास यस गीतमार्फत गरिएको मोडल तथा नृत्य निर्देशक दिपेश एसकेले जानकारी दिएका छन् ।
गीतमा सुरेश लामा र जितु लोप्चनको स्वर रहेको छ भने आफ्नै सिर्जनामा सुरेश लामाले संगीत भरेका छन् । गीतको संगीत संयोजन राजु खड्काले गरेका हुन भने रेकर्डिङ तथा मास्टरिङ डिका गुरुङद्वारा काठमाडौं डिजिटल स्टुडियोमा सम्पन्न गरिएको हो ।
गीतको भिडियोमा दिपेश एसके र मोनिका तामाङको अभिनय रहेको छ । उनीहरूको प्रस्तुतिले नै दर्शकलाई कथावस्तुप्रति उत्सुक उत्सुक बनाउँदै,गाउँको परिवेश र मौलिक पोशाकले प्रेम, आत्मीयता र संस्कृतिको सुन्दर संयोजन झल्काएको निर्माण पक्षले दावी गरेको छ ।

यसैगरी भिडियोको निर्देशन तथा छायांकन प्रेम लामाले गरेका छन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । पोस्ट–प्रोडक्सन लाइमलाइट नेपालबाट गरिएको छ । मेकअप कलाकार जिवन पाशाको मेहनतले कलाकारहरूको प्रस्तुति थप आकर्षक बनेको अनुमान गर्न सकिन्छ ।
संगीत बजारमा पछिल्ला दिनमा आधुनिक र विदेशी शैलीका गीतहरूको प्रभाव बढिरहेका बेला नेपाली गाउँको मौलिक स्वाद, पहाडी परिवेश र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर तयार गरिएको ‘यो गीतले फरक छाप छोड्ने अपेक्षा गरिएको छ । विशेषगरी गाउँबाट शहरसम्म पुगेका र आफ्नो जन्मथलोको सम्झनामा बाँचिरहेका लाखौं नेपालीका लागि यो गीत भावनात्मक उपहार बन्न सक्ने विश्वास गरिएको छ ।
पोस्टर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिन थालेका छन्। धेरैले गीतले गाउँको वास्तविक कथा बोल्ने अपेक्षा व्यक्त गरेका छन् भने केहीले मौलिक तामाङ तथा नेपाली संस्कृतिको संरक्षणमा यस्ता सिर्जनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »