काठमाडौँ । धर्मकीर्ति विहार संरक्षण कोष र सम्यक् सन्देशको संयुक्त आयोजनामा धर्मकीर्ति विहारकी प्रमुख परमपूज्य भिक्षुणी डा. धम्मवती गुरुमाँको ९३औँ जन्मोत्सवका अवसरमा ‘कवितामा धम्मवती’ कविता गोष्ठी आयोजना हुने भएको छ ।
साउन २३ गते आयोजना हुने उक्त साहित्यिक कार्यक्रममा विभिन्न विधामा सक्रिय १५ भन्दा बढी प्रतिष्ठित कविहरूको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी कविहरूले भिक्षुणी डा. धम्मवती गुरुमाँको जीवन, व्यक्तित्व, आध्यात्मिक साधना, बौद्ध धर्मको प्रचारप्रसार, शिक्षा तथा समाजसेवामा उहाँले पुर्याउनुभएको योगदानलाई केन्द्रमा राखी सिर्जना गरिएका छन्द कविताहरू वाचन गर्नेछन् ।
आयोजकका अनुसार गुरुमाँको दीर्घ आध्यात्मिक साधना, शिक्षा र सामाजिक सेवाबाट नयाँ पुस्ताले लिन सक्ने प्रेरणालाई साहित्यिक सिर्जनामार्फत उजागर गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो । साथै उहाँप्रति सम्मान, श्रद्धा र कृतज्ञता व्यक्त गर्दै उहाँको योगदानलाई कविता तथा साहित्यका माध्यमबाट व्यापक पाठक तथा श्रोतामाझ पुर्याउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा धरणीधर गुरागाईं, शिवप्रसाद आचार्य, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, चेवन बस्नेत ‘ठुलाघरे’, वासुदेव ठकुरी, रिकेश भण्डारी ‘रिगिश’, वासुदेव पौडेल, सुशील रिजाल, पार्वती घिमिरे पौडेल, इन्दिरा प्रयास, शम्भु गजुरेल, यदुनाथ ‘बसन्तपुरे’, गोमा रेग्मी, सुरेशचन्द्र घिमिरे, दुर्गाभवानी भट्ट, रुबि सत्याल लगायतका कविहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
गुरुमाँको जीवन र कर्मलाई कविताको विषय बनाउँदै विभिन्न कविहरूले प्रस्तुत गर्ने रचनाले उहाँको आध्यात्मिक व्यक्तित्व, बौद्ध शिक्षाप्रतिको समर्पण र समाजसेवाको आयामलाई साहित्यिक रूपमा उजागर गर्ने अपेक्षा गरिएको छ ।
‘कवितामा धम्मवती’ले श्रद्धालाई कवितामा, योगदानलाई सिर्जनामा र जीवनदर्शनलाई साहित्यमा रूपान्तरण गर्दै गुरुमाँको ९३औँ जन्मोत्सवलाई विशेष साहित्यिक उत्सवका रूपमा स्थापित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।








