सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धर्मकीर्ति विहारमा ‘कवितामा धम्मवती’ छन्द काव्य उत्सव सम्पन्न

काठमाडौं । धर्मकीर्ति विहार संरक्षण कोषको सहकार्य तथा सम्यक् सन्देशको आयोजनामा धर्मकीर्ति विहारमा ‘कवितामा धम्मवती’ छन्द काव्य उत्सव भव्य, सभ्य र आत्मीय वातावरणमा सम्पन्न भएको छ। धम्मवती गुरुमांको साधना, साहित्यिक योगदान, आध्यात्मिक चेतना र प्रेरणादायी जीवनलाई कविताका माध्यमबाट सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त काव्य उत्सवमा साहित्य, साधना, श्रद्धा र बुद्धको धम्म–दर्शन एकै ठाउँमा प्रतिध्वनित भएको अनुभूति गरिएको थियो।

कार्यक्रममा शारीरिक अस्वस्थताका बाबजुद श्रद्धेय डा. धम्मवती गुरुमां स्वयं उपस्थित भई आफ्नो सान्निध्य, स्नेह र आशीर्वाद प्रदान गर्नुभएको थियो। उहाँको भौतिक उपस्थितिले कार्यक्रमलाई थप भावुक, गरिमामय र स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्।

बुद्धको शिक्षाले मानिसलाई बाहिरी प्रदर्शनभन्दा आत्मशुद्धि, करुणा, मैत्री र प्रज्ञाको मार्गमा अघि बढ्न प्रेरित गर्दछ। यही धम्मको भावनालाई आत्मसात् गर्दै धम्मवती गुरुमांले साधना र साहित्यका माध्यमबाट समाजमा चेतना, करुणा र आध्यात्मिक उज्यालो फैलाउन पुर्‍याउनुभएको योगदानलाई कार्यक्रममा कवितामार्फत स्मरण र सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बज्रयान महाविहार, लुम्बिनीका चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्यले धम्मवती गुरुमांको साधना, योगदान र व्यक्तित्वका विविध आयाममाथि प्रकाश पार्दै प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सभापतित्व धर्मकीर्ति विहार संरक्षण कोषकी उपाध्यक्ष श्रद्धेय खेमावती गुरुमांले गर्नुभएको थियो। कार्यक्रममा प्राज्ञ डा. रिना तुलाधर तथा उपन्यासकार गंगाप्रसाद भेटवालले पनि धम्मवती गुरुमांको साधना, व्यक्तित्व, साहित्यिक योगदान र प्रेरणादायी जीवनका विविध पक्षमाथि सारगर्भित विचार व्यक्त गर्नुभएको थियो।

धम्मवती गुरुमांप्रति सम्मान अर्पण गर्दै विभिन्न स्रष्टाहरूले आफ्ना सिर्जना वाचन गरेका थिए। लोककवि राजभाइ जकमि, श्यामलाल चित्रकार, प्रेमलक्ष्मी तुलाधर, धरणीधर गुरागाईँ, शिवप्रसाद आचार्य, कृष्णप्रसाद पौडेल, सुशील रिजाल, इन्दिरा प्रयास, द्वारिका कुइँकेल, सत्यनारायण ढकाल, डिल्लीप्रसाद मूलतिहुन, चेवन बस्नेत, सुरेशचन्द्र घिमिरे, दुर्गाभवानी भट्ट, शम्भु गजुरेल, गोमा रेग्मी, रुबि सत्याल, यदुनाथ बसन्तपुरे, ऋकेश भण्डारी ‘ऋगीश’, वासुदेव पौडेल लगायतका कविहरूले कविता वाचन गर्नुभएको थियो।

कविहरूका शब्द र स्वरले धम्मवती गुरुमांप्रतिको श्रद्धालाई कलात्मक अभिव्यक्ति दिँदै उत्सवलाई साहित्य र आध्यात्मिक चेतनाको सुन्दर संगम बनाएको थियो।

बुद्धले देखाउनुभएको मार्गमा मैत्री, करुणा, मुदिता र उपेक्षा मानव जीवनका आधारभूत गुण मानिन्छन्। कार्यक्रममा प्रस्तुत कविताहरूमा पनि यिनै मानवीय मूल्य, साधना, त्याग, करुणा र आत्मबोधका भावहरू प्रतिध्वनित भएको देखिन्थ्यो।

कार्यक्रममा विहारका आवासीय गुरुमांहरू, साहित्यकार, विद्वत् वर्ग, साहित्यप्रेमी, शुभेच्छुक, उपासक–उपासिका तथा ठूलो संख्यामा साहित्य एवं धम्मप्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सहज, सुसंयोजित र जीवन्त रूपमा सहजीकरण धर्मकीर्ति विहार संरक्षण कोषका सदस्य अरुणसिद्धी तुलाधरले गर्नुभएको थियो।

त्यसैगरी कार्यक्रमको समाचार सम्प्रेषण तथा प्रचारप्रसारमा योगदान पुर्‍याउने बोधि टेलिभिजन, धम्मदीप तथा पत्रकार जयराम बिडारी र मायालु लामाप्रति आयोजकले आभार व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन सहकार्य गर्ने धर्मकीर्ति विहार संरक्षण कोष, कोषका सम्पूर्ण पदाधिकारी, प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने महानुभाव र शुभेच्छुकहरूप्रति पनि आयोजक सम्यक् सन्देशले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

कार्यक्रमपछि आयोजकले आज वाचन गरिएका कवितासहित अन्य कविहरूले धम्मवती गुरुमांप्रति रचना गरेका कविताहरूलाई समेत संकलन गरी पुस्तकाकार रूपमा अभिलेखीकरण गर्ने योजना रहेको जनाएको छ। सम्यक् सन्देशका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ले धम्मवती गुरुमांको साधना, साहित्यिक योगदान र प्रेरणादायी जीवनलाई नयाँ पुस्तासम्म पुर्‍याउने अभियान निरन्तर अघि बढाइने बताउनुभएको छ। उहाँका अनुसार आज उच्चारित प्रत्येक कविता, सभाहलमा गुञ्जिएको साधुकार र प्राप्त शुभेच्छामा धम्मवती गुरुमांप्रतिको श्रद्धा र सम्मानको सुन्दर प्रतिबिम्ब देखिएको थियो।

बुद्धको धम्मले सिकाउँछ—उज्यालो बाहिर खोजेर होइन, आफ्नै अन्तरमनमा प्रज्वलित गर्नुपर्छ। यही आत्मदीपको भावनालाई कवितामार्फत उजागर गर्दै सम्पन्न भएको ‘कवितामा धम्मवती’ केवल एउटा साहित्यिक कार्यक्रम मात्र नभई साधना, श्रद्धा, करुणा र सिर्जनाको आध्यात्मिक उत्सव बनेको सहभागीहरूको अनुभूति थियो।

भर्खरै

सम्बन्धित खबर

Language »