– माधव घिमिरे ‘अटल’
कवि तथा गीतकार अलका मल्लको कवितासङ्ग्रह ‘मनका तरङ्ग’को पृथक् शैलीमा परिचर्चा गरिएको छ । काठमाडौँ सिनामङ्गल अवस्थित रूद्र भ्यू होटलमा आयोजित उक्त परिचर्चा कार्यक्रमको सहजीकरण क्रमशः सनतकुमार वस्ती र प्रकाश सायमिले गरेका थिए ।
परिचर्चाको दैलो उघार्दै मल्लले कवितामा आफ्ना मनमा गुम्सेका भावना प्रस्तुत गरेको बताइन् । उनले आगन्तुक साहित्यकारहरूको सहायताले नै कविको रूपमा चिनिन थालेको खुलासा गरिन् । यसै मेलोमा उनले नै ‘मलाई पाउनु पनि छैन, गुमाउने डर पनि छैन’ शीर्षकीय कविताबाट वाचनको शुभारम्भ गरिन् ।
त्यसपछि क्रमशः सुनि सिंह, बिटु केसी, सनतकुमार, नरेश भट्टराई, रेणु लक्ष्मी सिंह, राजेन्द्र शलभ, प्रकाश सायमि, रामचन्द्रमान सिंह, उषा शेरचन, सुरेश श्रेष्ठलगायतले उनका कविता वाचन गरे भने विक्रमभक्त जोशीले सङ्गीत लहरी प्रयोग गरी मल्लको कविता गुनगुनाए । त्यसै मेलोमा प्रकाश श्रेष्ठ र मथुरा श्रेष्ठले सुमधुर गीतद्वारा आफ्ना भावना साटासाट गरे ।
शैलेन्द्र साकार, प्रकाश सायमि र सनतकुमार वस्तीले मल्लको काव्यकारिताबारे मुक्तकण्ठले सराहना गरे भने सम्पादनको भूमिका निर्वाह गरेका माधव घिमिरे ‘अटल’ले मल्लको लेखन कला,सीमा र सुधार गर्नुपर्ने विषयबारे कविलाई सुझाए । सम्पादन गर्दाका केही अनुभूति पनि ‘अटल’ले सर्जकहरूमाझ साझा गरेका थिए ।
कार्यक्रममा गजलकार ध्रुव जोशी, पुरुषोत्तम रसुवा, लोमश वाङ्मय प्रतिष्ठानका सचिव नवीन पल्लव, नियात्राकार राजेन्द्रमान डङ्गोल, लोमश वाङ्मयका सदस्य तथा गायक अनुप खनाल, वरिष्ठ सञ्चारकर्मी तथा लेखक राजेश खनाललगायतको समुपस्थिति थियो ।








