काठमाडौं । गत भाद्र १० गते चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना आफन्तहरूको खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै पीडित परिवारजनले सरकारसँग तत्काल खोजी तथा उद्धार कार्य तीव्र बनाउन माग गरेका छन्।
बाढीपहिरो गएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था पत्ता नलाग्दा परिवारजन दिनरात पीडामा छन्। आफन्त फर्केर आउने आशामा बाटो कुरिरहेका परिवारका आँखामा आशा र चिन्ता दुवै उत्तिकै देखिन्छ। तर, समय बित्दै जाँदा त्यो आशा निराशामा परिणत हुँदै गएको परिवारजनको गुनासो छ।
विशेषगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ का २५ वर्षीय विजय श्रेष्ठ अझै बेपत्ता छन्। बाढीपहिरोपछि विजयको कुनै जानकारी नआएपछि परिवारजन निरन्तर उनको खोजीका लागि सम्बन्धित निकायसँग आग्रह गरिरहेका छन्। तर, अहिलेसम्म उनको अवस्था पत्ता लाग्न नसकेको परिवारको भनाइ छ।
‘विजय कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने जानकारी नपाउँदा हरेक दिन पीडामा बितिरहेको छ। सरकारले खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइदियोस्,’ परिवारजनको भावुक आग्रह छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भाद्र १० गते आएको बाढीपहिरोमा सिन्धुपाल्चोकका मात्रै २२४ जना प्रभावित भएका थिए। बाढीपहिरोपछि केही व्यक्तिको उद्धार तथा उपचार भए पनि अझै केहीको अवस्था अज्ञात रहेको बताइएको छ।
उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका कार्यकारिणी सदस्य तथा व्यवसायी अम्बरबहादुर श्रेष्ठ (उमेश) का अनुसार विपद्मा परेका केही व्यक्तिको उद्धार भए पनि अझै धेरैको अवस्थाबारे स्पष्ट जानकारी आउन सकेको छैन। बेपत्ता नागरिकको खोजी कार्यमा थप तीव्रता दिनुपर्ने उहाँको भनाइ छ।
हालसम्म बेपत्ता रहेको भनिएका व्यक्तिहरूमा बलेफी गाउँपालिका–१ का २५ वर्षीय विजय श्रेष्ठ, २२ वर्षीय सुबिन श्रेष्ठ, २१ वर्षीय बलबहादुर श्रेष्ठ, भोटेकोशी गाउँपालिका–५ का ४९ वर्षीय मोहन श्रेष्ठ, बाह्रबिसे नगरपालिका–३ का विश्वबन्धु श्रेष्ठ, भोटेकोशी गाउँपालिकाका दिलिप लामिछाने तथा बलेफीका सुरज तिमल्सिना रहेका छन्।
बाढीपहिरोले घर, व्यवसाय र सम्पत्ति मात्र बगाएको छैन, कैयौँ परिवारको खुसीसमेत खोसेको छ। आफ्ना परिवारका सदस्य जीवित छन् कि छैनन् भन्ने समेत थाहा नपाई दिनरात बिताउनुपर्ने अवस्था आफैँमा अत्यन्त पीडादायी बनेको छ।
बेपत्ता परिवारका सदस्यहरूका लागि प्रत्येक बितेको दिन झन् भारी बन्दै गएको छ। उनीहरूलाई मृत्युको खबरभन्दा पनि आफ्ना आफन्तको अवस्था अज्ञात रहनु सबैभन्दा ठूलो पीडा बनेको छ। त्यसैले परिवारजनले सरकारसँग उद्धार तथा खोजी कार्यलाई औपचारिकतामा सीमित नराखी सम्भावित सबै स्थानमा प्रभावकारी रूपमा खोजी गर्न आग्रह गरेका छन्।
परिवारजनको एउटै प्रश्न छ– ‘हाम्रा आफन्त कहाँ छन्?’
उनीहरू सरकारसँग जवाफ मात्र होइन, आफ्ना बेपत्ता परिवारका सदस्यको वास्तविक अवस्था पत्ता लगाइदिन तत्काल र प्रभावकारी खोजी अभियान सञ्चालन गर्न जोडदार माग गरिरहेका छन्।
बाढीपहिरो प्राकृतिक विपद् भए पनि विपद्पछि बेपत्ता नागरिकको खोजी, उद्धार र परिवारलाई यथार्थ जानकारी उपलब्ध गराउनु राज्यको महत्वपूर्ण दायित्व हो। त्यसैले बेपत्ता नागरिकको खोजी कार्यलाई थप प्रभावकारी बनाउँदै पीडित परिवारलाई यथाशीघ्र सत्यतथ्य जानकारी गराउनुपर्ने माग अहिले झन् बलियो बनेको छ।








