सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपद्पीडितको उद्धार तथा राहतका लागि स्याङ्जाको बिरुवा गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने

स्याङ्जा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदीको बाढी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बिरुवा गाउँपालिकाले राहत तथा उद्धारका लागि ३० लाख ७५ हजार ४५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ छुट्याइएको छ, त्यस्तै, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको १० दिनको सेवा–सुविधाबापत २ लाख ३ हजार ४५० रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ।

यसैगरी, अधिकृतस्तरका कर्मचारीको ७ दिन, सहायकस्तरका कर्मचारीको ५ दिन तथा श्रेणीविहीन कर्मचारीको २ दिनको तलबबराबरको रकम गरी ४ लाख ९१ हजार ६४५ रुपैयाँ सहयोग गरिने भएको छ।

गाउँपालिकाले माध्यमिक तहका शिक्षक, निम्न माध्यमिक तथा प्राथमिक तहका शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको समेत निश्चित दिनको तलबबराबरको रकम राहतमा जम्मा गर्ने निर्णय गरेको छ। यस शीर्षकमा १८ लाख ७९ हजार ९५० रुपैयाँ छुट्याइएको छ।

बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति गाउँपालिकाले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको सकुशल उद्धार तथा खोजी कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

गाउँपालिकाले विपद्को यस कठिन समयमा सम्पूर्ण निकाय, व्यक्ति तथा संघसंस्थासँग सहकार्य र समन्वय गर्दै प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिदिन अनुरोध गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »