सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको नरैनापुरमा संक्रमितलाई २४ घण्टापछि नेपालगञ्ज ल्याइयो

नेपालगञ्ज, बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार पुष्टि भएका ५९ जना संक्रमितहरुलाई २४ घण्टापछि नेपालगञ्ज ल्याइएको छ ।

जिल्ला स्तरीय क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले २५ जनालाई लायन्स डेन्टल अस्पताल र ३४ जनालाई कोहलपुर पिपरीस्थित कृषि तालिम केन्द्रमा राख्ने निर्णय गरे अनुसार नरैनापुरका संक्रमितलाई मंगलबार साँझ नेपालगञ्ज ल्याइएको हो ।

जिलला प्रहरी कार्यालय बाँकेका डिएसपी शिववहादुर सिंहका अनुसार २८ जनालाई लायन्स डेन्टल अस्पतालमा राखिएको छ । अन्य संक्रमितहरु आउनेक्रममा रहेको सिंहले बताउनुभयो ।

सात महिनाकी शिशुसहितकी एक महिलालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राख्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिनुभयो ।

लायन्स डेन्टललाई नेपालगञ्ज उपमहानगरपालिकाको पहलमा दुई महिना पहिले कोरोना विशेष अस्थायी अस्पतालको रुपमा स्थापना गरिएको हो ।

यसअघि प्रशासनले सोमबार साँझ नरैनापुरमा रहेको लक्ष्मणपुर प्राथमिक केन्द्रमा संक्रमितलाई राख्ने निर्णय गरेपछि नेपालगञ्जमा वेड संकलन गरिएको थियो । मंगलबार फेरी नेपालगञ्ज ल्याउने निर्णय भएको हो ।

दिउसो नरैनापुरमा केही स्थानीयले संक्रमितलाई अन्यत्र लैजान नदिने भन्दै विरोध गरे भने कोहलपुर पिपरीमा समेत संक्रमित राख्न नहुने भन्दै स्थानीयले विरोध जनाएका थिए । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले मंगलबार साँझ संक्रमित सबैको खानाको ब्यवस्था नेपालगञ्ज उपमहानगरपालिकाले गर्ने बताउनुभयो ।

लायन्स डेन्टलमा उपमहानगरपालिकाका स्वास्थ्यकर्मी परिचालन गरिएको उपप्रमुख थापाले बताउनुभयो । जिल्ला स्तरीय केन्द्रले खजुरा अस्पतालको सम्पूर्ण भवनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने गरि निर्णयका लागि केन्द्रीय संकट ब्यवस्थापन केन्द्रमा सिफारिस गरेको छ ।
बैठकले लक्षण नभएका संक्रमितलाई आईसोलेसन केन्द्रको रुपमा राख्नका लागि खजुरास्थित कृषि ब्यवसाय सहयोग प्रवद्र्धन तथा तालिम केन्द्र र लक्षण भएकालाई कोहलपुरस्थित शिक्षण अस्पताललाई उपयोग गर्ने गरि निर्णय गर्न केन्द्रमा सिफारिस गरेको छ ।

यसैगरी परीक्षण, उपचार, मृतकको शवको ब्यवस्थापन लगायतका कार्यका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्री र किट्सको थप ब्यवस्थापनका लागि केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ ।

बाँकेको नरैनापुरमा एकजना मृतकसहित ६८ जनामा संक्रमण देखिएको छ भने नेपालगञ्जमा २५ जनामा संक्रमण फैलिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »