काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले रोजगारी क्षेत्रमा ठूलो चुनौती थपिएको छ। स्वदेशमा पर्याप्त रोजगारी नभइरहेको बेला कोरोनाका कारण बेरोजगारको अवस्था बिकराल हुने देखिएको हो।
कोरोनाका कारण लाखौंले रोजगारी गुमाएसँगै सरकारले रोजगारी केन्द्रित कार्यक्रम ल्याउन नसक्दा बेरोजगार युवा व्यवस्थापन गर्न ठूलो चुनौती थपिएको सरोकारवाला निकायको भनाइ छ । युवालाई रोजगारी दिन नसके विध्वंश हुने स्थिति सिर्जना हुन सक्ने बताउन थालिएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार नेपालमा कार्यरतमध्ये १६ लाखदेखि २० लाखले रोजगारी गुमाएका छन्। केन्द्रीय तथ्यांक विभागका अनुसार देशभर नौ लाख १८ हजार प्रतिष्ठान छन्। ती प्रतिष्ठानमा ४४ लाखभन्दा बढी श्रमिक कार्यरत छन्।
आईएलओका अनुसार उत्पादनतर्फ चार लाख ६० हजार, निर्माणतर्फ चार लाख चार हजार, होलसेल तथा रिटेल ट्रेडमा सात लाख ८० हजार, यातायात तथा स्टोरेजमा दुई लाख ११ हजारले रोजगारी गुमाएका छन्। त्यस्तै आवास तथा फुड सर्भिसमा ६२ हजार, अन्य क्षेत्रमा ८० हजार जनाले रोजगारी गुमाएका छन्।
कोरोनाका कारण चैत ११ गतेदेखि सरकारले लकडाउन जारी राखेको छ। पछिल्लो समय लकडाउन खुकुलो पारिए पनि पूर्णरूपमा उद्योग, कलकारखाना सञ्चालनमा आउन सकेको छैन। आईएलओका अनुसार कोरोनाका कारण घटीमा १६ लाख र बढीमा २० लाखले काम नपाएको केही समयअघि प्रतिवेदन सार्वजनिक गरेको थियो।
राष्ट्रिय योजना आयोगको साझेदारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारी सिर्जना हुन सक्ने अन्य ११ वटा मन्त्रालयसँग समन्वय गरी अध्ययन गरिरहेको छ ।








