तनहुँ / ३० असार ।
तनहुँमा आइतबार राति परेको भीषण बर्षाले आएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ५२ बर्षीय पदम भुजेल (चेपाङ) को शव मंगलबार दिउँसो चार बजेतिर भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
सोमबार विहान घरमाथिबाट आएको पहिरोमा पुरिएर उनी बेपत्ता भएका थिए ।
वेपत्ता भएलगत्तै नेपाल प्रहरी, सेनाको टोली उद्धारमा खटिएको थियो ।
तर, पहिरो ठूलो गएकाले मंगलबार उद्धारमा नेपाल प्रहरीले जेसीबी प्रयोग गरेपछि शव भेटिएको हो ।
पहिरोमा परि अझै एक जना वेपत्ता छन् । वेपत्ता भएका व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।